३० वैशाख,काठमाडौं । सभामुख डीपी अर्यालले प्रतिनिधिसभामा उठेको विपक्षी दलको मागअनुसार प्रधानमन्त्री बालेन शाह संसद्मा उपस्थित हुने वा नहुने विषयमा आज छलफल गर्ने बताएका छन्।
बुधबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले अवरोध गरेपछि सभामुख अर्यालले प्रधानमन्त्रीसँग छलफल गर्ने तयारी रहेको जानकारी दिएका हुन्।
सभामुख अर्यालले बैठकमा भने, “आजको सभा सकिएपछि सम्माननीय प्रधानमन्त्रीसँग संवाद गर्ने कुरा छ । त्यसकारण आज हामीले यसको प्रतिउत्तर वा जवाफ भ्याउँदैनौँ।”
उनले प्रधानमन्त्री संसद्मा उपस्थित हुन सक्ने वा नसक्ने विषयमा तत्काल निर्णय दिन नसकिने पनि स्पष्ट पारे। “उहाँ आउन सक्नुहुन्छ कि सक्नुहुन्न भन्ने अवस्था के छ भन्ने विषयमा अहिले निर्णय दिन सक्दिनँ,” उनले भने।
सभामुखले भोलिको बैठकको कार्यसूचीबारे प्रधानमन्त्रीसँग संवाद गरेपछि कार्यव्यवस्था परामर्श समितिमा छलफल गरिने बताए। तर सभामुखको जवाफपछि पनि कांग्रेस सांसदहरूले सदन अवरोध जारी राखेका थिए।