३० बैशाख, काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र सरकारको कार्यशैलीलाई लिएर गम्भीर प्रश्न उठाउनुभएको छ ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई संसदीय पद्धतिको मर्यादा जोगाउन सजग गराउनुभएको हो ।
उपसभापति शर्माले रास्वपा सभापति लामिछानेलाई मेन्सन गर्दै प्रधानमन्त्री शाह उहाँको समन्वयमा हुनुहुन्छ कि हुनुहुन्न भनी जिज्ञासा राख्नुभएको छ । संसदीय पद्धति आफैँमा सुन्दर नहुने र यो पूर्णतः राजनीतिक नेतृत्वको व्यवहारमा निर्भर रहने तर्क गर्दै शर्माले सरकारको पछिल्लो व्यवहारले प्रणालीमै असर पुर्याउन सक्ने चेतावनी दिनुभएको छ ।
गत फागुन २१ गते विकसित भएको राजनीतिक विश्वासको वातावरण भत्किँदै गएकोमा शर्माले चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘फागुन २१ को विश्वास भत्काउँदै नागरिकमा निराशा छर्दा प्रणाली र देशको हित हुन सक्दैन’ ।
पूर्वाग्रहबिनाको खुला सुझाव भन्दै उहाँले नेतृत्वलाई सजग बन्न र बनाउन आग्रह गर्नुभएको छ । उहाँले पछिल्लो समय नागरिकमा छरिएको निराशाले देशको हित नगर्ने भन्दै नेतृत्वको ध्यानाकर्षण गराउनुभएको हो ।


















