३० बैशाख, काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीचको एकताले कानुनी पूर्णता पाएको छ ।
निर्वाचन आयोगले यी दुई दलबीचको एकतालाई औपचारिक मान्यता दिँदै दल दर्ताको प्रमाणपत्र प्रदान गरेको हो । गत पुस २७ गते एकताको घोषणा गरी फागुनको चुनावमा एकीकृत रूपमा सहभागी भए पनि केही प्राविधिक र कानुनी कागजातको अभावमा आयोगबाट आधिकारिक पत्र पाउन बाँकी थियो ।
यसअघि सुरु भएको बृहत् एकता प्रक्रियामा हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) पनि सहभागी थिए ।
तर, निर्वाचन आयोगले बुधबार दिएको आधिकारिकतामा यी दुई दल समावेश छैनन् । तमलोपाका अध्यक्ष लालले यसअघि नै विज्ञप्तिमार्फत एकताबाट अलग भएको घोषणा गरिसकेका थिए भने त्रिपाठीको हकमा प्राविधिक कारण बाधक बनेको छ ।
निर्वाचन आयोगमा त्रिपाठीको पुरानो दल अझै अस्तित्वमा रहेकाले एउटै व्यक्ति दुईवटा दलमा रहन नसक्ने कानुनी प्रावधानका कारण उनी अहिलेको प्रक्रियाबाट आउट भएका हुन् । उनले आफ्नो पुरानो दल खारेज गरेपछि मात्र जसपा नेपालमा समाहित हुन पाउने नेताहरूले बताएका छन् ।
निर्वाचन आयोगले दल एकताको आधिकारिक जानकारी संघीय संसद् सचिवालय र प्रदेश सभा सचिवालयहरूमा समेत पठाइसकेको छ । आयोगको यो निर्णयसँगै अब केन्द्रदेखि प्रदेशसम्मै दुई दलको एकताले पूर्णता पाउने नेता शैलेन्द्र साहले जानकारी दिनुभयो ।
एकता प्रक्रिया टुङ्गिएसँगै जसपा नेपालको ५४ सदस्यीय कार्यान्वयन समिति गठन भएको छ, जसमा महन्थ ठाकुर संरक्षक र उपेन्द्र यादव अध्यक्ष रहनुभएको छ। बाँकी ५२ जनालाई समितिको सदस्यका रूपमा राखिएको छ ।


















