Logo

३० बैशाख, काठमाडौँ । आफ्नै छोरीको कक्षा ११ र १२ को नक्कली ट्रान्सक्रिप्ट तथा शैक्षिक कागजात तयार पारेको अभियोगमा अदालतबाट दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–३ निवासी ६१ वर्षीय क्रोडी फ्रेन्च क्षेत्री भनिने फरदिनान्द भ्यालेन्टाइन फेट्जलाई नियन्त्रणमा लिएको हो । फेट्जले आफ्नै छोरी कक्षा ११ र १२ उत्तीर्ण भएको झुटा विवरण राखेर नक्कली ट्रान्सक्रिप्ट बनाएको भन्दै तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद् (हालको राष्ट्रिय परीक्षा बोर्ड), परीक्षा नियन्त्रण कार्यालयले उनीविरुद्ध जाहेरी दिएको थियो ।

सोही जाहेरीका आधारमा चलेको सरकारी छाप दस्तखत किर्ते मुद्दामा भक्तपुर जिल्ला अदालतले २०८२ वैशाख ३ गते उनलाई दोषी ठहर गर्दै एक वर्ष कैद र ५० रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

अदालतको फैसलापछि सजाय भुक्तान नगरी एक वर्षदेखि फरार रहँदै आएका फेट्जलाई प्रहरीले मंगलबार काठमाडौँको तिलगंगा क्षेत्रबाट फेला पारेको हो । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइने अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।


सम्बन्धित समाचार