Logo

३० वैशाख,काठमाडौं । नेपाल बार एशोसिएशन ले गणेश पराजुली ले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सभामुख डीपी अर्याल लाई पत्र पठाएको छ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसद पराजुलीले ‘कामु प्रधानन्यायाधीशले सडकबाट दुई तिहाइ सरकारलाई ललकारेको’ भन्ने अभिव्यक्ति दिएका थिए। बारले उक्त टिप्पणीले न्यायालयको स्वतन्त्रतामाथि प्रहार गरेको ठहर गरेको छ।

एशोसिएशनका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइराला ले सभामुखलाई पठाएको पत्रमा पराजुलीको अभिव्यक्तिले ‘दुई तिहाइ बहुमत प्राप्त सरकारउपर कसैले केही बोल्न नपाउने’ भन्ने गलत सन्देश दिएको उल्लेख गरिएको छ। बारले यसलाई निरंकुशताको प्रवर्द्धनका रूपमा व्याख्या गर्दै यस्तो धारणा लोकतान्त्रिक मूल्य र मान्यताविपरीत रहेको जनाएको छ।

बारले संविधानको धारा १०५ अनुसार संघीय संसदको कुनै पनि सदनमा न्यायालय तथा न्यायाधीशको कार्यसम्पादनबारे बहस गर्न नपाइने संवैधानिक व्यवस्था स्मरण गराएको छ। साथै, नेपाल बार एशोसिएशनका तत्कालीन अध्यक्ष वरिष्ठ अधिवक्ता सर्वज्ञरत्न तुलाधरविरुद्ध राष्ट्रिय पञ्चायतमा भएको मुद्दामा प्रतिपादित सिद्धान्तसमेत पत्रमा उल्लेख गरिएको छ।

न्यायालय र न्यायाधीशको कार्यसम्पादनमा प्रतिकूल असर पर्ने गरी संसदमा राजनीतिक टिप्पणी हुन नदिन आवश्यक व्यवस्था गर्न बारले सभामुखसँग आग्रह गरेको छ। साथै, आगामी दिनमा यस्ता विषयमा संसदमा रुलिङ गरी स्वतन्त्र न्यायपालिकाको गरिमा जोगाउन ध्यानाकर्षण गराइएको जनाएको छ।

नेपाल बार एशोसिएशनले संवैधानिक सर्वोच्चता, विधिको शासन र शक्ति पृथकीकरणको सिद्धान्तको संरक्षणमा आफू सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै न्यायपालिकाको निष्पक्षतामा आँच आउने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेको छ।


सम्बन्धित समाचार