Logo

३० वैशाख,वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल ले मधेस प्रदेशमा रहेको सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ।

जसपा नेपालको मधेस प्रदेश सभा संसदीय दलको बैठकले अहिले नीति तथा कार्यक्रम तथा बजेट निर्माणको समय भएकाले गठबन्धन भत्काएर नयाँ सरकार गठन गर्नुभन्दा वर्तमान गठबन्धनलाई नै निरन्तरता दिन उपयुक्त हुने निष्कर्ष निकालेको जनाएको छ।

गठबन्धनभित्र सरकारको नेतृत्व कसले गर्ने वा वर्तमान मुख्यमन्त्रीलाई नै निरन्तरता दिने भन्ने विषयमा दलहरूबीच छलफल जारी रहेको र छिट्टै निष्कर्ष निस्कने बताइएको छ। हाल मधेस प्रदेश सरकारको नेतृत्व कृष्ण यादव ले गरिरहेका छन्।

जनमत पार्टी ले सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले जेठ १ गते विश्वासको मत लिने तयारी गरेका छन्। हालको अवस्थाअनुसार जसपा नेपाल पनि गठबन्धनकै पक्षमा रहेकाले मुख्यमन्त्री यादवलाई विश्वासको मत पाउन कठिन नहुने देखिएको छ।

निर्वाचन आयोगबाट पार्टी एकता प्रक्रिया टुङ्गिएसँगै मधेस प्रदेशमा जसपा नेपाल सबैभन्दा ठूलो दल बनेको छ। त्यसैले सरकारको नेतृत्वमा दाबी गर्न सक्ने सम्भावना पनि बढेको छ।

यसैबीच जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव जनकपुर पुगेका छन् भने पार्टीका संरक्षक महन्थ ठाकुर पनि छलफलका लागि जनकपुर पुग्ने कार्यक्रम रहेको बताइएको छ।

जसपा नेपालका नेता सुरेन्द्र झा ले मधेस सरकारको विषयमा पार्टीभित्र आन्तरिक छलफल जारी रहेको बताएका छन्।

यता जनमत पार्टीका नेताहरूले भने जसपा नेपालले आफूहरूलाई ‘धोका दिएको’ आरोप लगाएका छन्। जनमत पार्टीले जसपा नेपालको सहमतिमै सरकारबाट समर्थन फिर्ता लिएको दाबी गर्दै अहिले जसपा नेपाल समर्थन फिर्ता लिने वा नलिने भन्ने विषयमा अनिर्णित रहेको जनाएको छ।

स्रोतका अनुसार वर्तमान गठबन्धनलाई निरन्तरता दिने विषयमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, गगन थापापुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच समेत छलफल भएको थियो।


सम्बन्धित समाचार