३१ बैशाख, काठमाडौं । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले प्रयोग गरेका विवादास्पद शब्दहरू संसदीय अभिलेख (रेकर्ड) बाट हटाइएको छ ।
गत वैशाख २९ गतेको बैठकमा बोल्ने क्रममा उनले प्रयोग गरेका केही शब्दहरू संसदीय मर्यादा प्रतिकूल भएको ठहर गर्दै सभामुख डोलप्रसाद अर्यालले ती शब्दहरू हटाउन निर्देशन दिएका हुन् ।
सभामुख अर्यालले सांसद पराजुलीले सम्बोधनका क्रममा प्रयोग गरेका ‘भरौटेहरू’ र ‘यहाँ लुगा लगाएर पनि नांगै हिंडेजस्तो’ भन्ने वाक्यांशहरू सभाको आधिकारिक अभिलेखबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका छन् । पराजुलीले आफ्नो मन्तव्यका क्रममा विपक्षी वा अन्य पक्षलाई लक्षित गर्दै यी शब्दहरू प्रयोग गरेपछि सदनमा विरोधको स्वर सुनिएको थियो ।
सांसद पराजुलीको उक्त अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद ऐन महरले नियमापत्ति जनाउँदै संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए । संसदीय परम्परामा असंसदीय, अमर्यादित वा अपमानजनक शब्दहरू प्रयोग भएमा सभामुखले ती शब्दहरू रेकर्डबाट हटाउने आदेश दिने व्यवस्था छ ।
सोही बमोजिम आजको बैठकमा सभामुखले ती शब्दहरू अब संसद्को स्थायी अभिलेखमा नरहने जानकारी गराएका हुन् ।


















