Logo

३१ बैशाख, काठमाडौं । राष्ट्रिय सभाको मंगलबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि केन्द्रित रहेर सांसदहरूले गहन छलफल गरेका छन् ।

छलफलमा सहभागी सांसदहरूले देशको वर्तमान आर्थिक अवस्था सुधार्न कृषि क्रान्ति, पर्यटन प्रवर्द्धन, वैदेशिक लगानीको सुनिश्चितता र युवा पलायन रोक्ने ठोस योजना ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

छलफलका क्रममा सांसद महन्थ ठाकुरले मुलुकको विकासका लागि लगानीमैत्री वातावरण र स्थिर नीतिको आवश्यकता औँल्याउँदै गैरआवासीय नेपालीहरूलाई स्वदेशमा पूँजी भित्र्याउन प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन् ।

अर्का सांसद धर्मेन्द्र पासवानले भने नीति तथा कार्यक्रमले मधेस प्रदेशको कृषि र पर्यटनको विशाल सम्भावनालाई उपेक्षा गरेको आरोप लगाए । उनले मधेसको कृषि विकासका लागि बृहत् योजना नसमेटिएसम्म आर्थिक रूपान्तरण सम्भव नहुने टिप्पणी गरे ।

यस्तै, सांसद उर्मिला अर्यालले कृषिको वृद्धिदर ५ प्रतिशत पुर्‍याउने लक्ष्य राख्नुपर्ने बताउँदै वीरगञ्ज चिनी कारखानाको पुनः सञ्चालन र मधेसमा बढ्दो खानेपानी सङ्कट समाधानका लागि पर्याप्त बजेट छुट्याउन माग गरिन् । पर्यटनका क्षेत्रमा बोल्दै सांसद सोनामगेल्जेन शेर्पाले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा चलाउन चीन र भारतसँग कूटनीतिक पहल गर्नुपर्ने बताए ।

युवा पलायनको विषयमा सांसद सुनिलबहादुर थापाले चिन्ता व्यक्त गर्दै स्वदेशमै स्वरोजगारका अवसर सिर्जना गरी दक्ष जनशक्तिलाई देशमै रोक्ने कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएका छन् ।


सम्बन्धित समाचार
भर्खरै