३१ बैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सरकारले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/२०८४ को नीति तथा कार्यक्रमप्रति कडा आलोचना गर्दै यसले मुलुकको स्पष्ट मार्गचित्र कोर्न नसकेको टिप्पणी गर्नुभएको छ ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा जारी छलफलमा सहभागी हुँदै उहाँले वर्तमान नीति तथा कार्यक्रमलाई ‘यथास्थितिवादी’ को संज्ञा दिनुभयो । जनअपेक्षा र विद्यमान चुनौतीहरूलाई सम्बोधन गर्न यो कार्यक्रम पूर्णतः असफल हुने आशङ्का व्यक्त गर्दै उहाँले यसले जनतामा आशा जगाउन नसक्ने दाबी गर्नुभयो ।
सांसद पुनले संसद्मा नीति तथा कार्यक्रममाथि हुने छलफलको समय छोट्याइएको प्रति समेत गम्भीर असन्तुष्टि जनाउनुभएको छ । विगतका लोकतान्त्रिक अभ्यासहरूमा कम्तीमा पाँच दिनसम्म गहन छलफल हुने परम्परा रहेको स्मरण गराउँदै उहाँले यसपटक समयको अभावले गर्दा जनप्रतिनिधिहरूले आफ्ना धारणा राख्ने पर्याप्त अवसर नपाएको बताउनुभयो । प्रधानमन्त्रीले प्रतिपक्षी दलका नेताहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै आफ्ना कार्यक्रमको औचित्य पुष्टि गर्नुपर्नेमा उहाँले विशेष जोड दिनुभयो ।
विशेष गरी सत्तारुढ दलको चुनावी प्रतिबद्धता, सय बुँदे कार्ययोजना र सरकारको नीति तथा कार्यक्रमबीच कुनै तादात्म्यता नदेखिएको पुनको तर्क छ ।
सरकारको प्राथमिकता के हो भन्ने कुरा नै स्पष्ट नभएको भन्दै उहाँले ६ दशक लामो सङ्घर्षबाट प्राप्त सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्रलाई आर्थिक र सामाजिक रूपान्तरणसँग जोड्न सरकार चुकेको बताउनुभयो । प्रधानमन्त्रीकै स्वामित्वमा कमी देखिएको भन्दै उहाँले सरकारलाई स्पष्ट दृष्टिकोण र ठोस योजनाका साथ अघि बढ्न सुझाव दिनुभएको छ ।


















