Logo

३१ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले साढे दुई दशकदेखि गुपचुप राखिएको ‘लम्साल आयोग’को प्रतिवेदन सार्वजनिक गरी दोषीमाथि कारबाही प्रक्रिया अगाडि बढाउन सरकारसँग जोडदार माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै नेता केसीले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि पुरानो फाइल खोल्नुपर्ने आवश्यकता औँल्याउनुभएको हो । सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको नेतृत्वमा २०५८ सालमा गठित सम्पत्ति छानबिन आयोगले बुझाएको प्रतिवेदन अझैसम्म सार्वजनिक नगरिएको प्रति उहाँले आपत्ति जनाउनुभयो ।

नेता केसीले उक्त प्रतिवेदनमाथि थप ढिलाइ नगरी तत्काल कार्यान्वयनमा लैजान आग्रह गर्दै अवैध सम्पत्ति आर्जन गर्ने जोकोहीलाई पनि कानुनको दायरामा ल्याउनुपर्ने धारणा राख्नुभयो । सम्बोधनका क्रममा केसीले नेपालमा अवैध सम्पत्तिको छानबिन गर्न बंगलादेशको शैलीमा एक शक्तिशाली र स्वायत्त आयोग गठन गर्नुपर्ने प्रस्ताव समेत गर्नुभएको छ ।

पछिल्लो समय स्वीस बैंक लगायतका विदेशी बैंकहरूमा नेपालीहरूको मौज्दात रकम बढ्दै गएको दाबी गर्दै उहाँले राज्यको सम्पत्ति विदेश पलायन हुनु चिन्ताको विषय भएको बताउनुभयो । यस्ता गम्भीर आर्थिक विषयमा सरकारले ठोस कदम चाल्नुपर्ने र सम्पत्तिको स्रोतमाथि निर्मम अनुसन्धान हुनुपर्नेमा उहाँको विशेष जोड थियो ।


सम्बन्धित समाचार
भर्खरै