३१ वैशाख, वीरगञ्ज । मधेस प्रदेशको आर्थिक राजधानी वीरगञ्जमा अत्याधुनिक सुविधा र फरक शैलीको आतिथ्यसहित नयाँ गन्तव्य थपिएको छ। वीरगञ्जको घन्टाघर नजिकै रहेको स्काई लाइन इन्फ्रा लिमिटेड अन्तर्गतको स्काई लाइन मलु को माथिल्लो तल्लामा नेस्ट बाइ सरोवर बार एण्ड लाउन्ज सञ्चालनमा आएको हो।
स्थानीय बासिन्दा तथा बाहिरबाट आउने पाहुनाहरूलाई एउटै छानामुनि नयाँ स्वाद र विशिष्ट अनुभव प्रदान गर्ने उद्देश्यले यो रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको सञ्चालक पक्षले जनाएको छ।
नेस्ट बाइ सरोवरको सबैभन्दा ठूलो आकर्षण यसको अवस्थिति र दृश्य हो। रेस्टुरेन्टको माथिल्लो तल्लाबाट सम्पूर्ण वीरगञ्ज शहरको मनमोहक दृश्य अवलोकन गर्दै पाहुनाहरूले स्वादिलो परिकारको आनन्द लिन सक्नेछन्। स्वादसँगै रमणीय दृश्यको कम्बिनेशनले गर्दा यो लाउन्ज छोटो समयमै शहरको आकर्षक पर्यटकीय गन्तव्य बन्ने अपेक्षा गरिएको छ।
रेस्टुरेन्टमा नेपाली, भारतीयका साथै अन्तर्राष्ट्रियस्तरका विभिन्न स्वादिला परिकारहरू उपलब्ध हुनेछन्। पारिवारिक भेटघाट, व्यावसायिक जमघट (कर्पोरेट मिटिङ) तथा विशेष उत्सवहरू मनाउनका लागि उपयुक्त हुने गरी यसको आन्तरिक सजावट र वातावरण तयार गरिएको छ।
स्वादिष्ट भोजन, उत्कृष्ट सेवा र आधुनिक आतिथ्यमार्फत वीरगञ्जको होटल व्यवसायमा नयाँ मानक स्थापित गर्ने सञ्चालकहरूको विश्वास छ। यसले वीरगञ्ज भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्दै शहरको रात्रिजीवन र पर्यटन प्रवद्र्धनमा समेत थप टेवा पुर्याउने देखिन्छ।
वीरगञ्जमा बढ्दो आधुनिक जीवनशैली र स्तरीय रेस्टुरेन्टको मागलाई नेस्ट बाइ सरोवर ले केही हदसम्म परिपूर्ति गर्ने अनुमान गरिएको छ।




















