१ जेठ, जीतपुर (बारा) । मधेस प्रदेशको प्रमुख व्यापारिक नाकामध्येको एक जीतपुर बजार बिहीबार दिनभर तनावग्रस्त रह्यो । जीतपुरसिमरा उपमहानगरपालिकाले सञ्चालन गरेको फुटपाथ तथा सडक अतिक्रमण हटाउने अभियानले हिंसात्मक मोड लिँदा नगर प्रहरी र स्थानीय साना व्यवसायीबीच झडप भएको हो ।
उपमहानगरपालिका-७ स्थित बजार क्षेत्रमा सडक मिचेर राखिएका ठेला र पसल हटाउने क्रममा विवाद सुरु भएको थियो । फुटपाथमा मकै र फलफूल बिक्री गर्दै आएका व्यवसायीहरूले उचित विकल्प र व्यवस्थापन बिना आफूहरूलाई हटाउन खोजिएको भन्दै प्रतिकारमा उत्रिएका थिए । प्रत्यक्षदर्शीका अनुसार विवाद बढ्दै जाँदा स्थिति अनियन्त्रित बनेको थियो। सोही क्रममा एक आक्रोशित व्यवसायीले मकै पोल्न प्रयोग भइरहेको बलिरहेको आगो नगर प्रहरीतर्फ प्रहार गरेपछि स्थिति थप तनावपूर्ण बनेको थियो ।
सडकमा भएको झडपपछि आक्रोशित व्यवसायी र केही स्थानीयको समूह हातमा रड तथा घरेलु हतियारसहित उपमहानगरपालिकाको कार्यालय घेराउ गर्न पुगेको थियो । नगर प्रहरीको सुरक्षामा चुनौती देखिएपछि ईलाका प्रहरी कार्यालय जीतपुरबाट नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो। नेपाल प्रहरी र नगर प्रहरीको संयुक्त प्रयासमा केही घण्टापछि स्थिति नियन्त्रणमा आएको थियो ।
हाल जीतपुर बजारको जनजीवन सामान्य बनेको स्थानीयले बताएका छन्। यद्यपि, सुरक्षाकर्मीको टोली फर्किएलगत्तै कतिपय व्यवसायीहरू पुनः साविककै स्थानमा व्यापार गर्न फर्किएका छन् । यसले गर्दा उपमहानगरपालिकाको ‘क्लिन सिटी’ अभियान दिगो हुनेमा आशंका उब्जिएको छ ।
यता, उपमहानगरपालिकाले भने बजार व्यवस्थापन र सडक अतिक्रमण नियन्त्रणको कार्य नरोकिने स्पष्ट पारेको छ । सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने क्रममा सुरक्षाकर्मीमाथि भौतिक आक्रमण गर्ने र सरकारी काममा अवरोध पुर्याउने समूहको पहिचान गरी कानुनी कारबाही अगाडि बढाइने उपमहानगरले चेतावनी दिएको छ । प्रशासन र व्यवसायीबीचको यो जुहारीले जीतपुरको फुटपाथ व्यवस्थापनको दीर्घकालीन समाधान भने अझै अन्योलमै रहेको देखिन्छ ।


















