१ जेठ, काठमाडौँ । ओमानको तटनजिकै भारतीय झण्डावाहक एक मालवाहक जहाजमाथि भीषण आक्रमण भएको छ । सोमालियाबाट संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहतर्फ जाँदै गरेको ‘हाजी अली’ नामको मोटरबोटमा बिहीबार आक्रमण भएको हो । आक्रमणपछि जहाजमा भीषण आगलागी भएको र केही समयपछि उक्त जहाज समुन्द्रमा डुबेको भारतीय विदेश मन्त्रालयले पुष्टि गरेको छ ।
काठले बनेको उक्त व्यापारिक जहाजमा सवार १४ जना भारतीय चालक दलका सदस्यहरूलाई ओमानको कोस्ट गार्डले सुरक्षित उद्धार गरेको छ । १३ मे २०२६ को बिहान भएको उक्त आक्रमणपछि ओमान प्रशासनले तत्काल उद्धार टोली खटाएर सबै सदस्यहरूलाई ओमानको डिब्बा पोर्ट पुर्याएको हो । भारतको बन्दरगाह, परिवहन तथा जल यातायात मन्त्रालयका सचिव मुकेश मंगलले सबै नाविकहरू सुरक्षित रहेको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।
भारतीय विदेश मन्त्रालयले बिहीबार एक लिखित वक्तव्य जारी गर्दै यस आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । “व्यावसायिक जहाजहरू र निर्दोष नाविकहरूलाई लगातार निसाना बनाइने कार्य पूर्णतः अस्वीकार्य छ,” वक्तव्यमा भनिएको छ । भारतले अन्तर्राष्ट्रिय समुद्री मार्गमा व्यावसायिक जहाजहरूको सुरक्षा सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नाविकहरूको ज्यान जोखिममा पार्ने यस्ता गतिविधिको भर्त्सना गरेको छ ।
पछिल्लो समय मध्यपूर्व र खाडी क्षेत्रका समुद्री मार्गहरूमा व्यापारिक जहाजहरूमाथि आक्रमणका घटना बढे पनि भारतीय जहाजमाथिको यो पछिल्लो घटना ७२ घण्टा यताको एकमात्र रहेको सचिव मंगलले स्पष्ट पारेका छन् । भारतले नाविकहरूको उद्धारका लागि ओमान प्रशासनलाई विशेष धन्यवाद दिएको छ । यद्यपि, उक्त आक्रमण कसले र किन गरेको हो भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको र कुनै पनि समूहले हालसम्म यसको जिम्मेवारी नलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।


















