१ जेठ, काठमाडौँ । विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनबीच बेइजिङमा जारी उच्चस्तरीय शिखर वार्ताको दोस्रो दिन पनि कुनै ठोस र ठूलो व्यापारिक सम्झौता हुन सकेको छैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बुधबारदेखि सुरु भएको छलफलमा व्यापारिक तनाव कम गर्ने प्रयास गरिए पनि रणनीतिक मुद्दाहरूमा भने दुवै पक्षबीच कुरा मिल्न बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
पटक-पटकको भन्सार शुल्क (ट्यारिफ) विवाद र व्यापार युद्धको अन्यौललाई स्थायी रूपमा अन्त्य गर्न दुवै नेताहरू एक शक्तिशाली ‘बोर्ड अफ ट्रेड’ गठन गर्न सहमत भएका छन् । ह्वाइट हाउसका अनुसार यस संयन्त्रको मुख्य उद्देश्य दुई देशबीचको व्यापारिक सम्बन्धलाई प्राविधिक र नीतिगत रूपमा व्यवस्थित बनाउनु हो। यद्यपि, अमेरिकी अधिकारीहरूले यो संयन्त्रलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन अझै धेरै गृहकार्य बाँकी रहेको बताएका छन् ।
राष्ट्रपति ट्रम्पको यो भ्रमणमा अमेरिकी व्यापारिक जगत्का प्रभावशाली व्यक्तित्वहरूको उपस्थितिले विश्वको ध्यान खिचेको छ। टेस्लाका सीईओ एलन मस्क र एनभीडीयाका सीईओ जेन्सेन हुआङ प्रतिनिधिमण्डलमा समावेश हुनुलाई अर्थपूर्ण मानिएको छ ।
टेस्लाका लागि चीनको शांघाई प्लान्ट र त्यहाँको बजार जीवनमरणको सवाल बनेको छ भने एनभीडीयाका माइक्रोचिपहरू वैश्विक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रतिस्पर्धाको केन्द्रमा छन् । विशेषगरी एनभीडीयाका हुआङको नाम अन्तिम समयमा सूचीमा थपिनुले उन्नत प्रविधि र सेमिकन्डक्टर चिप्समा चीनको पहुँचबारे गहन ‘बार्गेनिङ’ भइरहेको सङ्केत गरेको छ ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भ्रमणका क्रममा बोइङ विमानको ठूलो अर्डर तथा अमेरिकी ऊर्जा र कृषि उत्पादन खरिदबारे चिनियाँ पक्षसँग सहमति हुनसक्ने आशा व्यक्त गरेका छन् । ट्रम्पले दर्जनौँ शीर्ष व्यवसायीहरूलाई साथमा लिएर चीनसँग ‘राम्रो डिल’ को खोजी गरिरहेका छन् ।
यसअघि गत अक्टोबरमा भएको सहमतिअनुसार अमेरिकाले चिनियाँ सामानमा थप भन्सार वृद्धि रोकेको छ भने चीनले पनि दुर्लभ खनिज निर्यातमा केही खुकुलो नीति लिएको थियो ।
यद्यपि, अमेरिकाले उन्नत कम्प्युटिङ प्रविधिमा चीनमाथि लगाएको निर्यात प्रतिबन्ध कायमै राखेकाले बेइजिङले यसलाई हटाउन दबाब दिइरहेको छ। भ्रमणको दोस्रो दिन जारी रहँदा दुई नेताहरूबीच सामरिक र आर्थिक मुद्दाहरूमा थप छलफल हुने अपेक्षा गरिएको छ ।


















