१ जेठ,वीरगञ्ज । सरकारले संविधान संशोधनका लागि तयार पार्न लागेको बहशपत्र सम्बन्धी छलफलमा सहभागी हुन पर्साका तीन जना जेनजी युवालाई आमन्त्रण गरिएको छ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाह नेतृत्वको संविधान संशोधन बहशपत्र तयार कार्यदलले थप २० जना जेनजी युवालाई छलफलका लागि बोलाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार पर्साबाट जेनजी अभियन्ता विशेष साह, अधिवक्ता अनिल साह र अर्जुन साह छनोटमा परेका हुन्।
कार्यदलका सदस्य सचिव लिलाधर सुबेदीका अनुसार उनीहरुलाई शुक्रबार साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हुने छलफलमा सहभागी हुन बोलाइएको छ।
संविधान संशोधनका विषयमा तयार पारिने बहशपत्रमा युवापुस्ताको धारणा, सुझाव र सहभागिता सुनिश्चित गर्ने उद्देश्यले जेनजी युवाहरुलाई छलफलमा आमन्त्रण गरिएको सदस्य सचिव सुबेदीले बताए।


















