Logo

१ जेठ,काठमाडौं ।  पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित बजौर जिल्लाको स्काउट्स मुख्यालयमा भएको आत्मघाती आक्रमणमा कम्तीमा नौ जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।

स्थानीय समयअनुसार बिहीबार साँझ करिब ७ः५५ बजे विस्फोटक पदार्थले भरिएको गाडी स्काउट्स क्याम्पको मुख्य गेटमा ठोक्किएर विस्फोट भएको अन्तर्राष्ट्रिय समाचार संस्था सिन्ह्वाले जनाएको छ।

प्रारम्भिक जानकारी अनुसार सुरक्षाकर्मीहरूले शंकास्पद गाडीलाई मुख्य गेटमै रोक्ने प्रयास गरेका थिए। त्यसक्रममा भएको शक्तिशाली विस्फोटले गेट तथा वरपरका पर्खालमा क्षति पुगेको बताइएको छ।

विस्फोटलगत्तै भारी हतियारधारी आतंककारीहरूले गोलीबारी सुरु गरेपछि सुरक्षा बल र आक्रमणकारीबीच भिडन्त भएको स्रोतहरूले बताएका छन्।

घटनापछि सुरक्षा बलले उद्धार तथा निकासी कार्य सञ्चालन गरेको छ। मृतक र घाइतेहरूको पहिचान गर्ने काम जारी रहेको अधिकारीहरूले जनाएका छन्।

गोली हानाहानका क्रममा केही आतंककारी पनि मारिएको दाबी गरिएको छ। सुरक्षा निकायले क्षेत्रमा थप अपरेसन जारी राखेकाले क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको बताइएको छ।

घाइते सुरक्षाकर्मीहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ। घटनाको जिम्मेवारी हालसम्म कुनै समूहले लिएको छैन।


सम्बन्धित समाचार
भर्खरै