१ जेठ,वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव नेतृत्वको सरकारको विश्वासको मत लिने प्रक्रिया अन्तिम समयमा आएर अनिश्चित बनेको छ।
कांग्रेसभित्रै ‘फ्लोर क्रस’ हुने सम्भावना देखिएपछि सरकारले विश्वासको मत प्रक्रिया रोक्न वा स्थगित गर्न सक्ने चर्चा चलेको छ। स्रोतका अनुसार गगन थापा र शेखर कोइराला पक्षका केही प्रदेशसभा सदस्यहरूले फ्लोर क्रस गर्न सक्ने सूचना प्राप्त भएपछि सत्ता गठबन्धनभित्र हलचल बढेको हो।
आज बिहान ११ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक दिउँसो १२ बजेसम्म पनि सुरु हुन सकेको छैन। यसबीच सत्ता गठबन्धनका शीर्ष नेताहरू आन्तरिक छलफलमा व्यस्त रहेका छन्।
उच्च स्रोतका अनुसार नेपाली कांग्रेसका करिब ७ जना प्रदेशसभा सदस्यले फ्लोर क्रस गर्न सक्ने आशंका पछि विश्वासको मत प्रक्रिया नै स्थगित गर्ने तयारीसमेत भइरहेको छ।
मुख्यमन्त्री यादव नेतृत्वको सरकारले आजै विश्वासको मत लिने तयारी गरेको थियो। गत वैशाख २२ गते जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था रहेको छ।


















