Logo

१ जेठ,काठमाडौं । भारतमा चार वर्षपछि पहिलो पटक पेट्रोल र डिजेलको मूल्य वृद्धि गरिएको छ। आजदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर तीन–तीन भारतीय रुपैयाँले बढाइएको हो। साथै, सीएनजीको मूल्य पनि प्रतिकिलो दुई रुपैयाँले वृद्धि गरिएको छ।

नयाँ मूल्यसूची अनुसार राजधानी दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ ७७ पैसा तथा डिजेलको मूल्य प्रतिलिटर ९० रुपैयाँ ६७ पैसा कायम भएको छ।

भारतमा सन् २०२२ को अप्रिलदेखि इन्धनको मूल्य स्थिर राखिएको थियो। तर सन् २०२४ को मार्चमा लोकसभा चुनावअघि सरकारले पेट्रोल र डिजेल दुवैको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको थियो।

मध्यपूर्व क्षेत्रमा जारी युद्ध र हर्मुज जलमार्गमा उत्पन्न अवरोधका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै गएपछि भारतमा पनि इन्धन महँगिएको बताइएको छ। विश्वको तेस्रो ठूलो तेल आयातकर्ता भारतले आफ्नो कच्चा तेलको झन्डै आधा हिस्सा हर्मुज जलमार्ग हुँदै आयात गर्ने भएकाले त्यहाँको अस्थिरताले भारतीय ऊर्जा बजारमा प्रत्यक्ष प्रभाव पारेको विश्लेषकहरूको भनाइ छ।

सरकारी तेल कम्पनीहरूले विश्व बजारमा कच्चा तेलको मूल्य निरन्तर उकालो लागेकाले इन्धन बिक्रीमा घाटा व्यहोर्नुपरेको जनाएका छन्। यसअघि सरकारले एलपी ग्यासको मूल्यसमेत बढाइसकेको थियो।

इन्धनको मूल्यवृद्धिसँगै सरकारले ऊर्जा खपत घटाउने तथा विदेशी मुद्रा जोगाउने उद्देश्यले मितव्ययिता कार्यक्रमलाई थप कडाइ गरेको छ। सरकारी तथा निजी क्षेत्रलाई इन्धनको अनावश्यक प्रयोग कम गर्न आग्रह गरिएको छ।

दिल्लीका मुख्यमन्त्रीले सरकारी कार्यालयका कर्मचारीलाई सम्भव भएसम्म हप्तामा दुई दिन घरबाटै काम गर्न निर्देशन दिएका छन्। साथै, निजी सवारीको प्रयोग घटाएर सार्वजनिक यातायात प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि इन्धन आयातमा खर्च हुने ठूलो परिमाणको विदेशी मुद्रा बचत गर्न ऊर्जा खपत नियन्त्रण आवश्यक रहेको बताएका छन्। बढ्दो ऊर्जा आयात खर्चले व्यापार घाटा तथा मुद्रास्फीतिमा असर पार्न सक्ने भन्दै अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्।

यसैबीच, मध्यपूर्वबाट घटेको आपूर्तिको प्रभाव कम गर्न भारतले रुसी कच्चा तेलको आयात बढाएको देखिएको छ। जहाज ट्र्याकिङ तथा आयातसम्बन्धी तथ्याङ्कअनुसार अस्थायी अमेरिकी छुटपछि रुसबाट तेल आयात उल्लेख्य रूपमा वृद्धि भएको बताइएको छ।


सम्बन्धित समाचार