Logo

१ जेठ,वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालसहित देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य निकायहरूमा ठूलो परिमाणमा म्याद नाघेका औषधि र स्वास्थ्य सामग्री फेला परेको छ।

महालेखा परीक्षकको ६३औँ प्रतिवेदनअनुसार विभिन्न स्वास्थ्य संस्थाहरूमा करिब ९ करोड १७ लाख रुपैयाँ बराबरका औषधिजन्य सामग्री, कीट तथा स्वास्थ्य उपकरण म्याद समाप्त भएर प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेका हुन्।

प्रतिवेदनमा स्वास्थ्य सेवा विभाग, वीर अस्पताल तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका संस्थाहरूमा औषधि व्यवस्थापन र भण्डारणमा गम्भीर लापरबाही देखिएको उल्लेख गरिएको छ।

महालेखाअनुसार स्वास्थ्य सेवा विभागमा मात्रै विगतमा खरिद गरिएका २८ प्रकारका ४ करोड ७२ लाख २० हजार रुपैयाँ बराबरका औषधिको म्याद सकिएको छ। त्यसैगरी, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा ४७ लाख ७० हजार रुपैयाँ बराबरका सामग्री तथा वीर अस्पतालमा ६०१ प्रकारका १ करोड ४३ लाख ७५ हजार रुपैयाँका औषधि प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेका छन्।

त्यस्तै, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ करोडभन्दा बढी मूल्यका औषधि तथा सामग्री म्याद गुज्रिएको अवस्थामा रहेको छ भने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि ठूलो परिमाणमा म्याद सकिएका सामग्री थुप्रिएको प्रतिवेदनमा उल्लेख छ।

सम्झौताअनुसार म्याद समाप्त भएका, टुटफुट भएका वा बिक्री नभई मौज्दात रहेका औषधिहरू आपूर्तिकर्ताबाट प्रतिस्थापन गरिनुपर्ने व्यवस्था भए पनि त्यसो नगरिँदा राज्यको ठूलो लगानी खेर गएको महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएको छ।

प्रतिवेदनमा भनिएको छ, “स्वास्थ्य संस्थाले आपूर्तिकर्ताबाट खरिद गरेको औषधिको म्याद समाप्त भएमा, टुटफुटेमा वा अधिक मौज्दात रहेमा सम्झौताको सर्तअनुसार उक्त औषधि आपूर्तिकर्ताबाट प्रतिस्थापन गर्नुपर्दछ।”

सरकारी स्वास्थ्य संस्थाहरूमा देखिएको यस्तो लापरबाहीले औषधि व्यवस्थापन प्रणाली, सार्वजनिक स्वास्थ्य सेवा र सरकारी खर्चको पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ।


सम्बन्धित समाचार