२ जेठ, काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज (शनिबार) बस्दै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुन्डुस्थित निवासमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । समसामयिक राजनीतिक परिस्थितिका साथै पार्टीको आन्तरिक सङ्गठन व्यवस्थापनका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको नेताहरूले बताएका छन् ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार आजको बैठकमा विशेष गरी पार्टी नेताहरूको कार्यविभाजन र साङ्गठनिक जिम्मेवारी हेरफेरबारे विस्तृत छलफल हुनेछ । पार्टीलाई थप गतिशील बनाउन र कार्यक्षेत्रहरूलाई चुस्त राख्न नयाँ कार्यविभाजन गर्न लागिएको कार्यालय सचिव अधिकारीले जानकारी दिए ।
बैठकमा साङ्गठनिक कार्यविभाजनका अतिरिक्त गत फागुन २१ गते सम्पन्न निर्वाचनको परिणामबारे समेत गम्भीर समीक्षा हुने बताइएको छ । उक्त निर्वाचनमा पार्टीले सोचेअनुरूप नतिजा ल्याउन नसकेको र कतिपय क्षेत्रमा लज्जास्पद पराजय बेहोर्नुपरेको भन्दै एमालेभित्रै असन्तुष्टि चुलिएको छ ।
पार्टीको भित्री वृत्त र दोस्रो तहका नेताहरूबाट निर्वाचनको कमजोर नतिजाको नैतिक जिम्मेवारी नेतृत्वले लिनुपर्ने आवाज उठ्दै आएको सन्दर्भमा आजको बैठक निकै पेचिलो बन्ने अनुमान गरिएको छ । अन्तर्घात, कमजोर चुनावी रणनीति र गठबन्धनभित्रको असमझदारीका कारण क्षति बेहोर्नुपरेको भन्दै सचिवालयका सदस्यहरूले आजको बैठकमा नेतृत्वसँग जवाफ माग्ने तयारी गरेका छन् ।
आजको बैठकले चुनावी समीक्षा प्रतिवेदन पारित गर्नुका साथै आगामी साङ्गठनिक सुदृढीकरणका लागि नयाँ कार्यदिशा तय गर्ने एमाले स्रोतले जनाएको छ ।


















