Logo

२ जेठ,काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा सशस्त्र आतंककारीहरूले दर्जनौँ स्कूले बालबालिकालाई अपहरण गरेका छन्। अपहरणमा परेका बालबालिकाको अवस्था हालसम्म अज्ञात रहेको स्थानीय स्रोतहरूले जनाएका छन्।

स्थानीय बासिन्दा र अभिभावकहरूका अनुसार मुसा गाउँस्थित एक प्राथमिक विद्यालयबाट करिब ३५ देखि ४३ जना विद्यार्थीहरू अपहरणमा परेका छन्। घटनापछि समुदायमा त्रास फैलिएको छ।

प्रत्यक्षदर्शीहरूका अनुसार नाइजेरियाली सेना सहरबाट बाहिरिएको आधा घण्टाभन्दा कम समयमा मोटरसाइकलमा आएका आतंककारीहरूले विद्यालय र नजिकैको शिशु स्याहार केन्द्रमा आक्रमण गरी बालबालिकाहरूलाई नियन्त्रणमा लिएका थिए।

बोर्नो राज्य लामो समयदेखि असुरक्षाको चपेटामा पर्दै आएको क्षेत्र हो। नाइजेरियाले विगत करिब १७ वर्षदेखि विभिन्न सशस्त्र समूहविरुद्ध संघर्ष गर्दै आएको छ। ती समूहहरूले अपहरण, हमला र आतंक फैलाउने गतिविधि निरन्तर जारी राखेका छन्।

यस घटनापछि सुरक्षा निकायहरूलाई थप सक्रिय बनाउन तथा अपहृत बालबालिकाको सकुशल उद्धारको माग स्थानीय स्तरमा तीव्र बनेको छ।


सम्बन्धित समाचार