२ जेठ,काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम प्रयोग गर्दै दैलेखका एक वडासचिवलाई धम्की दिएको आरोपमा एक युवक पक्राउ परेका छन्।
प्रकाश खड्कालाई काठमाडौंबाट पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रमेश थापाले जानकारी दिएका छन्।सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक घर भएका २२ वर्षीय खड्का हाल काठमाडौंको शंखमुलमा बस्दै आएका थिए।
प्रहरीका अनुसार खड्काले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बोलिरहेको भन्दै दैलेखको दुल्लु नगरपालिका–१३ का वडासचिव कमल भण्डारीलाई टेलिफोनमार्फत अशिष्ट र अमर्यादित भाषा प्रयोग गर्दै धम्की दिएका थिए। उक्त अडिओ सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल बनेको थियो।
घटनापछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शनिबार नै खड्कामाथि कडा कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको जनाएको छ।