२ जेठ,काठमाडौं । पूर्णबहादुर खड्काले गगन थापा अझै सिंगो नेपाली कांग्रेसको सभापति बन्न नसकेको टिप्पणी गरेका छन्।
शनिबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित ‘नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेता खड्काले आफूलाई भेट्न आएका सभापति थापालाई पार्टीको सबै पक्षलाई समेट्ने नेतृत्व गर्न सुझाव दिएको बताए।
उनले अहिले पनि थापा “सानेपाको मात्रै सभापति” भएको टिप्पणी गर्दै पार्टी विभाजनको जोखिम रहेको चेतावनी दिए। “पार्टी विभाजनको डिलमा छ, म त्यो बाटोमा जान हुँदैन भन्छु,” भन्दै उनले केही दिनअघि सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मासँग भएको भेटवार्ताको प्रसंग उल्लेख गरे।
खड्काले पार्टी मिलाउने वा फुटाउने जिम्मेवारी अहिलेको नेतृत्वकै काँधमा रहेको समेत बताए। अदालतको निर्णयपछि आफूहरूले पनि थापालाई सभापति स्वीकार गरेको उनको भनाइ थियो।
यसैबीच, विशेष महाधिवेशनकै कारण कांग्रेस चुनावमा कमजोर बनेर ३८ सिटमा सीमित हुनुपरेको दाबी गर्दै उनले त्यसले राजनीतिक समीकरणमा ठूलो असर परेको बताए। “विशेष महाधिवेशनका कारण कांग्रेस ३८ सिटमा खुम्चियो, रास्वपा दुई तिहाइ नजिक पुग्यो,” उनले भने।


















