Logo

२ जेठ,काठमाडौं । पश्चिमी अष्ट्रेलियाको पर्थ सहर नजिक रहेको रोटनेस्ट टापु आसपासको समुद्री क्षेत्रमा शनिबार सेतो शार्कको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ।

पर्थ नजिकको उक्त घटनामा बिहान करिब १० बजे शार्कले आक्रमण गरेको हो। स्थानीय प्रहरीलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार पीडितको उद्धार सम्भव नभएको बताइएको छ।

घटनापछि प्रशासनले समुद्री क्षेत्रमा जाने पर्यटक र स्थानीयलाई पानीमा प्रवेश गर्दा अत्यधिक सावधानी अपनाउन आग्रह गरेको छ।

गत जनवरीमा सिड्नी हार्बर क्षेत्रमा पनि शार्क आक्रमणका कारण एक जनाको मृत्यु भएको थियो। पछिल्लो घटनासँगै दुई दिनभित्र चार वटा शार्क आक्रमणका घटना सार्वजनिक भएपछि तटीय क्षेत्रका दर्जनौँ पर्यटकीय स्थलमा उच्च सतर्कता अपनाइएको छ भने केही समुद्री क्षेत्र अस्थायी रूपमा बन्द गरिएको छ।

सन् १७९१ यता अस्ट्रेलियामा करिब १,३०० शार्क आक्रमणका घटना रेकर्ड भएका छन्, जसमा २६० भन्दा बढी व्यक्तिको मृत्यु भएको तथ्यांकमा उल्लेख छ।

वैज्ञानिकहरूले पछिल्ला वर्षहरूमा शार्क आक्रमणका घटनामा वृद्धि देखिनुमा समुद्री तापक्रम वृद्धि, भीडभाडयुक्त तटीय क्षेत्र र समुद्री वातावरणमा आएको परिवर्तनलाई कारणका रूपमा औँल्याएका छन्।


सम्बन्धित समाचार
भर्खरै