Logo

३ जेठ, कलैया (बारा) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्ला कार्यसमितिभित्रको आन्तरिक कलह र साङ्गठनिक विवाद उत्कर्षमा पुगेको छ । जिल्लामा देखिएका गम्भीर साङ्गठनिक समस्या र असमझदारीलाई हल गर्न गठन गरिएको ‘बारा जिल्ला सङ्गठन निर्माण विशेष समिति’ ले जिल्लाभरका वडा, पालिका तथा निर्वाचन क्षेत्रस्तरीय सबै साङ्गठनिक गतिविधिहरू अर्को निर्णय नभएसम्मका लागि तत्कालै लागू हुने गरी स्थगित गरेको छ ।

विशेष समितिकी संयोजक कामिनी चौधरीद्वारा जारी आधिकारिक सूचनाअनुसार पार्टीको नियमित सदस्यता वितरण कार्यबाहेक अन्य कुनै पनि प्रकारका साङ्गठनिक भेला, बैठक वा कार्यक्रमहरू सञ्चालन गर्न पाइने छैन ।

जिल्ला नेतृत्व र स्थानीय तहका समितिहरूबीच लामो समयदेखि समन्वय अभाव र विवाद बढ्दै गएपछि विशेष समितिको जेठ १ गते बसेको आकस्मिक बैठकले यो कडा कदम चालेको हो । बारा रास्वपामा देखिएको सङ्गठनात्मक संकट समाधानका लागि आगामी २०८३ जेठ ९ गते शनिबार बिहान ११ बजे कलैयास्थित ‘करण राज प्यालेस’ मा पार्टीको विशेष विस्तारित बैठक आह्वान गरिएको छ ।

जिल्लाको साङ्गठनिक भविष्य निर्धारण गर्ने भनिएको उक्त महत्त्वपूर्ण बैठकमा रास्वपाका सङ्घीय सांसद, केन्द्रीय तथा प्रदेश समितिका नेताहरू, विभागका पदाधिकारीहरू, विघटित जिल्ला समितिका सदस्यहरू, निर्वाचन क्षेत्र समितिका सभापतिहरू तथा वडा एवं पालिका समितिका पदाधिकारीसहित सम्बन्धित सबै प्रतिनिधिहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ ।

विशेष समितिले जेठ ९ गतेको विस्तारित बैठक सम्पन्न भई ठोस निर्णय नआएसम्म पार्टीको मर्यादा विपरित जाने गरी कसैलाई पनि छुट्टै सांगठनिक गतिविधि नगर्न र आन्तरिक अनुशासन कायम राख्न कडा आग्रह गरेको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा बारामा रास्वपाभित्र चुलिएको यो आन्तरिक विवाद र सांगठनिक ‘फ्रीज’ को अवस्थालाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।


सम्बन्धित समाचार
भर्खरै