Logo

३ जेठ, काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा नेपाली साहसको नयाँ मानक स्थापित भएको ऐतिहासिक क्षणमा प्रधानमन्त्री वालेन्द्र शाहले कीर्तिमानी आरोहीद्वय कामी रिता शेर्पा र लाक्पा शेर्पाप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ ।

कामी रिताले आइतबार बिहान १०ः१२ बजे ३२औँ पटक सगरमाथाको सफल आरोहण गरी आफ्नै विश्व कीर्तिमान नवीकरण गर्नुभएको हो भने ‘माउन्टेन क्विन’ लाक्पा शेर्पाले बिहान ९ः३० बजे ११ औँ पटक शिखर चुम्दै महिला आरोहीमध्ये सर्वाधिक सफल आरोहणको विश्व कीर्तिमान कायम गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत बधाई दिँदै प्रधानमन्त्री शाहले यो सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अन्तर्राष्ट्रिय जगतमा थप विश्वसनीय, गौरवपूर्ण र आकर्षक बनाएको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री शाहले सगरमाथालाई केवल भौगोलिक उचाइ मात्र नभएर नेपालको आत्मसम्मान, साहस, धैर्य र हिमाली सभ्यताको सर्वोच्च प्रतीकका रूपमा अथ्र्याउनुभएको छ ।

निरन्तरको अदम्य साहस र कठोर अनुशासनले मात्र यस्तो ऐतिहासिक सफलता सम्भव हुने भन्दै उहाँले शेर्पा समुदायको योगदानबिना हिमालको गौरव अधुरो रहने स्पष्ट पार्नुभयो । हिमाललाई ईश्वरका रूपमा पुज्ने र जोखिमलाई जिम्मेवारीका रूपमा स्वीकार गर्ने शेर्पाहरू वास्तवमै हिमालयका ‘अदृश्य नायक’ भएको प्रधानमन्त्रीको भनाइ छ ।

नेपालको पर्वतारोहण इतिहासमा शेर्पा समुदायले पुर्‍याएको असाधारण र अनुपम योगदानको प्रशंसा गर्दै प्रधानमन्त्रीले सम्पूर्ण नेपालीका तर्फबाट आरोहीद्वय र पर्वतारोहण क्षेत्रमा समर्पित सबैप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

यो कीर्तिमानले विश्वभरका आरोहीहरूलाई नेपालतर्फ आकर्षित गर्ने र नेपालीको शिर विश्वकै सर्वोच्च शिखर झैँ उच्च बनाएको सन्देश प्रधानमन्त्रीले साझा गर्नुभएको छ ।


सम्बन्धित समाचार
भर्खरै