४ जेठ, काठमाडौँ । लामो समयको गतिरोध र आन्तरिक सन्नाटा चिर्दै नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डू निवासमा सुरु भएको छ ।
गत फागुन २१ गते सम्पन्न आम निर्वाचनपछि अध्यक्ष ओलीको उपस्थितिमा पहिलो पटक बस्न लागेको यो औपचारिक बैठकलाई एमाले वृत्तमा निकै चासोका साथ हेरिएको छ । गत पुसमा ११ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरे पनि एमालेले हालसम्म नेताहरूको कार्यविभाजन गर्न सकेको छैन । चुनावी परिणाम, अध्यक्ष ओलीको गिरफ्तारी र त्यसपछिको स्वास्थ्य उपचारका कारण प्रभावित बनेको पार्टी गतिधिलाई लयमा फर्काउन यो बैठक बोलाइएको हो ।
बैठकको मुख्य कार्यसूची नेताहरूको जिम्मेवारी बाँडफाँड (कार्यविभाजन) र वरीयता निर्धारण रहे पनि सचिवालयका सदस्यहरूलाई एजेन्डाबारे पूर्वजानकारी भने दिइएको थिएन । पार्टी सचिव पद्मा अर्यालका अनुसार अध्यक्ष ओलीको स्वास्थ्य समस्याका कारण यसअघि बैठक बस्न नसकेकाले सोमबारको बैठकबाटै कार्यविभाजन टुङ्ग्याउने तयारी छ ।
निर्वाचनलगत्तै शोकमा परेका, त्यसपछि पक्राउ परेका र रिहा भएलगत्तै पित्तथैलीको शल्यक्रिया गराएका अध्यक्ष ओली निको भएर सक्रिय भएसँगै बैठक सम्भव भएको हो । हालसम्म स्थायी कमिटी, पोलिटब्युरो र विभिन्न विभागहरू समेत गठन हुन नसकेकाले पार्टीका दैनिक कामकारबाही ठप्प प्रायः छन् ।
यसैबिच, निर्वाचनमा व्यहोरेनु परेको लज्जास्पद हारलाई लिएर पार्टीभित्र तीव्र असन्तोष र दबाब बढ्न थालेको छ । एमाले नेता झपटबहादुर रावलले आम निर्वाचन सम्पन्न भएको साढे दुई महिना बित्दासमेत पराजयको औपचारिक समीक्षा नहुनु र केन्द्रीय कमिटी बैठक नबोलाइनु दुःखद भएको भन्दै तत्काल बैठक डाक्न माग गरेका छन् ।
इतिहासकै खराब नराम्रो पराजयपछि सिंगो पार्टी पंक्तिमा निराशा र सन्नाटा छाएको उल्लेख गर्दै नेता रावलले सचिवालय बैठकका लागि चार सूत्रीय गम्भीर सवालहरू सार्वजनिक गरेका छन् ।
नेता रावलले केवल प्राविधिक कार्यविभाजनमा मात्र अल्झिनुको साटो सचिवालयले चुनावी पराजयको निर्मम आत्मसमीक्षा गर्नुपर्ने, नीति र नेतृत्वमा पार्टी पुनर्गठनको बहस चलाउनुपर्ने, नेतृत्वले जवाफदेहिता र नैतिक जिम्मेवारी लिनुपर्ने तथा तत्काल केन्द्रीय कमिटी बैठकको मिति घोषणा गर्नुपर्ने बलियो अडान राखेका छन् ।
चुनावी धक्कापछि रक्षात्मक बनेको एमालेभित्र कार्यविभाजन र नेतृत्वको जवाफदेहिताको सवाललाई लिएर अब आन्तरिक बहस थप तातिने संकेत देखिएको छ ।


















