Logo

५ जेठ, काठमाडौँ । नेपालको वित्तीय क्षेत्रमा प्रतिष्ठित मानिने ग्लोबल आईएमई बैंकभित्रको आन्तरिक वातावरण र कर्मचारी व्यवस्थापनको शैली कतिसम्म पीडादायी र निर्दयी रहेछ भन्ने कुरा एक बैंकरको आत्मदाह जस्तै बनेको आत्महत्याले उजागर गरिदिएको छ।

बैंकको विराटनगर प्रादेशिक कार्यालयमा कार्यरत कर्मचारी पिताम्बर खड्काले सोमबार बेलुकी आफ्नै घरको भुइँतल्लाको कोठामा झुण्डिएर आत्महत्या गरेका छन्। तर, यो केवल एउटा आत्महत्या मात्र होइन, घटनाको प्रकृति, समय र खड्काले मर्नुअघि सार्वजनिक गरेका तथ्यहरूले के बैंकको उच्च व्यवस्थापनले नै उनलाई मर्न बाध्य बनाएको हो त ? भन्ने गम्भीर र रहस्यमयी प्रश्न खडा गरिदिएको छ।

राजीनामा स्वीकृत भएकै दिन पासो, सामाजिक सञ्जालमा किटानी आरोप

घटनाको शृङ्खला हेर्दा खड्कालाई योजनाबद्ध रूपमा मानसिक कुनामा धकेलिएको प्रष्ट बुझिन्छ। केही समयअघि बैंकले उनलाई स्पष्टीकरण सोधेको थियो, जसको लगत्तै उनले राजीनामा बुझाएका थिए। रहस्यको विषय त के छ भने, बैंकले उनको राजीनामा जुन दिन स्वीकृत गर्‍यो, ठिक त्यही दिन उनले संसारबाट बिदा लिने कठोर निर्णय गरे।

मर्नुअघि खड्काले आफ्नो फेसबुक (सामाजिक सञ्जाल) मा बैंकका चार जना शीर्षस्थ अधिकारीहरूको नाम र एआई तस्बिर सार्वजनिक गर्दै लेखे— ‘तिमी हरामखोरहरुले मलाई मार्यौ’। उनले सीधा आरोप लगाएका अधिकारीहरूमा बैंकका सीईओ सुरेन्द्र राज रेग्मी, असिस्टेन्ट सीईओ दीपचन्द्र रेग्मी, एचआर प्रमुख अनामिका सिंह कुँवर र डेपुटी सीईओ सुमन पोखरेल रहेका छन्।

आफ्ना सर्वोच्च हाकिमहरूलाई ट्याग गर्दै तिमीहरूले मलाई मार्यौ भन्नुले खड्का बैंकभित्र कुन हदसम्मको चरम मानसिक यातना र प्रशासनिक प्रतिशोधको सिकार भएका थिए भन्ने सङ्केत गर्दछ। विशेषगरी मानव संसाधन विभागबाट उनलाई निरन्तर मानसिक दबाब दिइएको आरोप सामाजिक सञ्जालमा व्यापक बनेको छ।

सीईओसहित ४ जना उच्च अधिकारी पक्राउ पर्ने सम्भावना

मृतकले आत्महत्या गर्नुअघि नाम र तस्बिर नै किटान गरिसकेको अवस्थामा प्रहरीले यसलाई गम्भीरतापूर्वक लिएको छ। इलाका प्रहरी कार्यालय दमक र प्रहरी स्रोतका अनुसार नाम उल्लेख गरिएका सीईओ सुरेन्द्र राज रेग्मीसहित चारै जना उच्च अधिकारीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउने तयारी भइरहेको छ।

यद्यपि, बैंकका सबै शीर्ष नेतृत्वलाई एकैपटक पक्राउ गर्दा वित्तीय प्रणालीमा आउन सक्ने हलचल र उत्पन्न हुने अवस्थालाई मध्यनजर गर्दै कसरी अघि बढ्ने (बयानका लागि मात्र बोलाउने वा चरणबद्ध पक्राउ गर्ने) भन्ने विषयमा प्रहरी भित्र आन्तरिक छलफल चलिरहेको बुझिएको छ। प्रहरीले खड्काको मोबाइल र अन्य कागजात नियन्त्रणमा लिइसकेको छ भने खड्का कार्यरत शाखाका कर्मचारी र प्रदेश प्रमुखसँग पनि बयान लिने तयारी गरेको छ।

स्थानीयको आक्रोश र बैंकभित्र छायो त्रास

घटनापछि दमकमा स्थानीयबासी र सर्वसाधारणले निष्पक्ष अनुसन्धानको माग गर्दै आन्दोलनको चेतावनी दिएका छन्। खड्काले मृत्युअघि स्पष्ट प्रमाण छाडेकाले यस घटनालाई ‘आत्महत्या दुरुत्साहन’ (मर्न बाध्य पारेको) को कसुर अन्तर्गत दर्ता गरी उच्च अधिकारीहरूमाथि कडा कानुनी कारबाही हुनुपर्ने माग चौतर्फी रूपमा उठेको छ।

यता, आफ्ना शीर्ष हाकिमहरूमाथि नै गम्भीर आरोप लागेर कानुनी फन्दामा पर्ने सम्भावना बढेपछि ग्लोबल आईएमई बैंकभित्र तीव्र त्रास र सन्नाटा छाएको छ। बैंकका अन्य कर्मचारीहरू जागिर जाने वा व्यवस्थापनको तारो बन्ने डरले सार्वजनिक रूपमा केही बोल्न सकिरहेका छैनन्। यद्यपि, सिनियर व्यवस्थापनबीच यसले उत्पन्न गराएको तनावबारे लगातार आकस्मिक छलफल भइरहेको बैंक स्रोतले स्वीकार गरेको छ।

यस दुखद र रहस्यमयी प्रकरणले नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा टार्गेट पूरा गर्ने बहानामा कर्मचारीमाथि गरिने शोषण, कार्यस्थलमा दिइने अमानवीय मानसिक दबाब, र कर्पोरेट कल्चरको नाममा मौलाएको कुरुप प्रवृत्तिमाथि एउटा ठुलो प्रश्नचिह्न खडा गरिदिएको छ।


सम्बन्धित समाचार
भर्खरै