५ जेठ, काठमाडौं । आफ्नो तिखो र आक्रामक शैलीका कारण सधैँ चर्चा र विवादको केन्द्रमा रहने झापाका मेडिकल व्यवसायी एवं राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियानका संयोजक दुर्गा प्रसाईं पटक–पटक हिरासतमा पुग्ने गरेका छन् ।
उनी सोमबार राति मात्रै पर्साको वीरगञ्जस्थित दियालो होटलबाट नाटकीय रूपमा पक्राउ परे । यसअघि पनि छोटो अवधिमै पक्राउ पर्दै छुट्दै आएका छन् । प्रसाईंमाथि यसपटक सार्वजनिक शान्ति खलल पुर्याएको र राज्य संयन्त्रविरुद्ध उत्तेजक अभिव्यक्ति दिएको अभियोग छ ।
हिरासतको स्वाद प्रसाईंका लागि यो नयाँ होइन । व्यवस्था, सरकार र राजनीतिक दलका शीर्ष नेताहरूमाथि निरन्तर खनिँदै आएका प्रसाईं पटक–पटक कानुनको फन्दामा पर्ने गरेका छन् ।
प्रसाईंले सार्वजनिक मञ्च, सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा दिने अभिव्यक्तिहरू प्रायः अनियन्त्रित र आक्रामक हुने गर्छन् । राज्यका जिम्मेवार निकाय, सुरक्षा संयन्त्र र राजनीतिक नेतृत्वविरुद्ध भीडलाई उत्तेजित बनाउने र कानुन हातमा लिन उक्साउने खालका भाषण गरेकै कारण उनीमाथि ुसार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान हुने गरेको छ ।
यसपटक पनि सिमरा विमानस्थलमा ओर्लिएलगत्तै वर्तमान सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूमाथि उनले गरेको कडा र लाञ्छनायुक्त टिप्पणी नै उनको गिरफ्तारीको दाउपेच बनेको प्रहरीको दाबी छ ।
साइबर अपराध र चरित्र हत्याको शृङ्खला
विगतमा पनि प्रसाईं विद्युतीय कारोबार ऐन (इबर अपराध) अन्तर्गत पक्राउ परिसकेका पात्र हुन् । विभिन्न व्यक्ति, महिला अधिकारकर्मी, नेता तथा सेलिब्रेटीहरूको चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा सामग्री सम्प्रेषण गर्नु र विना प्रमाण गम्भीर लाञ्छना लगाउनु उनको शैली बन्दै आएको छ । कानुनले बन्देज गरेको डिजिटल माध्यमको दुरूपयोगलाई हतियार बनाउँदा उनी पटक–पटक साइबर ब्युरोको फन्दामा पर्ने गरेका छन्।
उनीमाथि वित्तीय अराजकता फैलाएको र संगठित रूपमै बैंकिङ प्रणाली भत्काउन खोजेको आरोप पनि लाग्दै आएको छ।
भिआइपी र राज्य संयन्त्रसँग सिधै टक्कर
नेपालका शीर्ष नेताहरू—विशेष गरी प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र बहालवाला मन्त्रीहरूलाई व्यक्तिगत रूपमै गालीगलौज गर्नु कहिलेकाँही प्रसाईंको दैनिकी जस्तै हुन्छ । राजनीतिक नेतृत्व र शक्ति केन्द्रहरूलाई सिधै चुनौती दिँदै ‘व्यवस्था नै पल्टाउने’ उद्घोष गर्ने गरेका कारण पनि राज्यले उनलाई सुरक्षा थ्रेटको रूपमा लिँदै तत्काल नियन्त्रणमा लिने रणनीति अख्तियार गर्ने गरेको छ ।


















