४ जेठ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका मा प्रमुख प्रशासकीय अधिकृतको सरुवालाई लिएर करिब तीन महिनादेखि जारी विवाद झन् चर्किएको छ। महानगर नेतृत्वले सम्पूर्ण सेवा बन्द गर्ने र महानगरको साँचो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई बुझाउने निर्णय गरेको छ।
तत्कालीन नेपाल सरकार मन्त्रिपरिषद् ले २०८२ फागुन १२ गते सहसचिव रेशमलाल कँडेल लाई वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाउने निर्णय गरेको थियो। तर महानगरको सहमति बिना सरकारले उनलाई पठाएको भन्दै महानगरले सुरुदेखि नै असहमति जनाउँदै आएको थियो।
कंडेलको सरुवा भएदेखि नै मेयर सिंहले उनलाई हाजीर नगराउने बताउदै आएका थिए । उनले तत्कालीन निमित्त प्रमुख प्रशासकिय अधिकृत अरविन्दलाल कर्णबाट महानगर चलाउने योजनामा छन । मेयर सिंहले मन्त्रालयलाई कंडेल पठाउदा समेत कुनै अवरोध नगर्ने बताएपछि कंडेललाई मन्त्रालयले गएको बैशाख २४ गते रमना दिएको थियो ।
सोमबार मेयर, उपमेयर र वडाध्यक्षसहित बसेको बैठकले महानगरका सम्पूर्ण सेवा बन्द गर्ने तथा महानगरको साँचो मन्त्रालयलाई बुझाउने निर्णय गरेको हो।
उनले कँडेलको स्थानमा अर्को प्रमुख प्रशासकीय अधिकृत पठाइएपछि मात्रै नयाँ अधिकारीलाई हाजिर गराइने अडानसमेत दोहोर्याए। साथै बुधबार जनप्रतिनिधिको टोली मन्त्रालय पुगेर महानगरको साँचो बुझाउने तयारी गरिएको जानकारी दिए।
यसअघि महानगरपालिकाले पनि मन्त्रालयलाई पत्राचार गर्दै कँडेलको सरुवा निर्णय पुनर्विचार गर्न आग्रह गरेको थियो। तर मन्त्रालयले उक्त आग्रह बेवास्ता गर्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्ण को आर्थिक तथा प्रशासनिक अधिकार कटौती गरेको थियो।
महानगरले कँडेललाई हाजिर हुन नदिएपछि वीरगञ्ज महानगर विगत तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ। यसको प्रत्यक्ष असर महानगरको आर्थिक तथा प्रशासनिक कामकाजमा परेको छ।
महानगरका कर्मचारीहरूले ५ महिनादेखि तलबभत्ता पाउन सकेका छैनन् भने विकास निर्माणका कामसमेत प्रभावित बनेका छन्।


















