Logo

५ जेठ,वीरगञ्ज ।  डिभिजन वन कार्यालय महोत्तरीले वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउने प्रक्रिया अघि बढाएपछि स्थानीय बासिन्दाले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। महेन्द्र राजमार्ग छेउमा रहेका संरचना हटाउन सुरक्षाकर्मी र डोजर परिचालन गरिएपछि स्थानीय आक्रोशित बनेका थिए।

गौशाला नगरपालिका–१ र बर्दिवास नगरपालिका–५ क्षेत्रमा करिब २० वटा आवासीय पसल तथा टहराहरू हटाउने तयारीसँगै बिहान करिब ८ बजेदेखि स्थानीयले टायर बालेर सडक अवरुद्ध गरेका थिए। आन्दोलनका कारण केही समय राजमार्ग पूर्ण रूपमा ठप्प भएको थियो।

इलाका प्रहरी कार्यालय बर्दिवासका अनुसार स्थिति केही समय तनावपूर्ण बने पनि वार्तापछि अवस्था सामान्य बनेको छ। बिहान करिब १० बजे स्थानीय प्रतिनिधि र सरोकारवालाबीच भएको छलफलपछि यातायात पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

बर्दिवास नगरपालिका–५ का वडाध्यक्ष कारमान स्याङ्गवासँगको वार्तापछि सुकुम्बासीलाई आफैं संरचना खाली गर्न समय दिने सहमति भएको छ। सो सहमतिअनुसार आजका लागि घरटहरा भत्काउने प्रक्रिया स्थगित गरिएको बताइएको छ।

डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजयकुमार मिश्रका अनुसार सो क्षेत्रमा रहेका संरचना हटाउन यसअघि नै १५ दिने, सात दिने र तीन दिने गरी पटक–पटक सार्वजनिक सूचना जारी गरिएको थियो। उनका अनुसार सुरुमा साना पसलका रूपमा बनेका संरचना विस्तार हुँदै अर्धपक्की घरमा परिणत भएपछि कानुनी प्रक्रिया अनुसार हटाउने प्रयास गरिएको हो।

आजका लागि डोजर सञ्चालन रोकिए पनि स्थानीयले स्वेच्छाले संरचना खाली गर्ने सहमति भएपछि तत्कालका लागि आन्दोलन स्थगित भएको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै