५ जेठ, काठमाडौं । नेपाली कांग्रेसले काभ्रेको धुलिखेलमा आयोजना गरेको दुई दिने बागमती प्रदेशस्तरीय भेला मंगलबार ३३ बुँदे ‘बागमती संकल्प’ जारी गर्दै सम्पन्न भएको छ ।
सोमबारदेखि सुरु भएको प्रदेश र स्थानीय तह केन्द्रित यस भेलाले संविधानले प्रत्याभूत गरेको नागरिक स्वतन्त्रता, हक र अधिकारको संरक्षण गर्दै नागरिकमुखी नीति मार्फत उत्तरदायी सरकारका रूपमा प्रभावकारी कार्य गर्ने पहिलो संकल्प गरेको छ ।
भेलाले संघीय सरकारबाट भइरहेका पछिल्ला अलोकतान्त्रिक र अमर्यादित कार्यहरूप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । संकल्पको दोस्रो बुँदामा संघीय सरकारलाई संविधानको मर्म, विधि प्रक्रिया र नागरिकको आत्मसम्मानलाई केन्द्रमा राख्न ध्यानाकर्षण गराइएको छ । साथै, बागमती प्रदेश र स्थानीय सरकारले सुरु गरेका असल अभ्यास र नवीन अभियानहरूलाई सूचीबद्ध गरी अन्य तहमा समेत विस्तार गर्ने निष्कर्ष भेलाले निकालेको छ ।
पार्टी संगठन सुदृढीकरणका लागि ‘जरा अभियान’ अन्तर्गत क्रियाशील सदस्यता अद्यावधिक र डिजिटल अभिलेखिकरणलाई थप तीव्र बनाउने संकल्प समेत गरिएको छ । भेलाको ३२औँ बुँदामा संघीयताको मर्म अनुसार समन्वय, सहकार्य र सहअस्तित्वको ुतीन सु सिद्धान्तमा आधारित भई समुन्नतिको मार्गमा लाग्न संघीय सरकारलाई अपिल गरिएको छ ।
बागमती प्रदेशका सांसदहरू र स्थानीय तहका जनप्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको यो अभियान अब ६ र ७ जेठमा मधेशको बर्दिबास, ८ र ९ जेठमा कोशीको लौकी र १४१५ जेठमा लुम्बिनीको तिलोत्तमामा सञ्चालन हुने कार्यतालिका छ ।


















