Logo

५ जेठ,माडी। माडी नगरपालिकाले नगर क्षेत्रभित्र प्लास्टिकजन्य सामग्रीको प्रयोग, बिक्री वितरण, आयात तथा भण्डारणमा कडाइ गर्दै पूर्ण प्रतिबन्ध लगाएको छ। वातावरण संरक्षण, फोहोर व्यवस्थापन सुधार तथा जनस्वास्थ्य संरक्षणलाई लक्षित गर्दै नगरपालिकाले यस्तो निर्णय कार्यान्वयनमा ल्याएको हो।

नगरपालिकाले यसअघि कार्यपालिकाबाट निर्णय गरी केही प्लास्टिकजन्य सामग्रीमा रोक लगाएको भए पनि ती सामग्रीको प्रयोग तथा कारोबार अझै जारी रहेको पाइएपछि पुनः कडाइका साथ सार्वजनिक सूचना जारी गरिएको हो।

सूचनाअनुसार प्लास्टिकबाट निर्मित कप, गिलास, प्लेट, काँटा, साथै प्लास्टिकका फूल तथा बुकेजस्ता सामग्रीको बिक्री वितरण, आयात र भण्डारण पूर्ण रूपमा निषेध गरिएको छ। नियम उल्लंघन गर्ने व्यक्ति वा व्यवसायीमाथि कानूनअनुसार कारबाही हुने चेतावनी पनि दिइएको छ।

नगरपालिकाले हाल मौज्दातमा रहेका प्रतिबन्धित सामग्रीहरू सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अनिवार्य रूपमा व्यवस्थापन गर्न आग्रह गरेको छ।

माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसालद्वारा हस्ताक्षरित सूचनामा वातावरण संरक्षणलाई प्राथमिकता दिँदै प्लास्टिकको प्रयोग घटाउन सबै नगरवासी, व्यवसायी तथा सरोकारवालाको सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ।

पछिल्लो समय प्लास्टिकजन्य सामग्रीका कारण वातावरण प्रदूषण, फोहोर व्यवस्थापनमा चुनौती र मानव स्वास्थ्यमा असर बढ्दै गएपछि स्थानीय तहहरूले यस्ता सामग्री नियन्त्रणमा कडाइ गर्न थालेका छन्। माडी नगरपालिकाको यो निर्णयलाई वातावरण संरक्षणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।


सम्बन्धित समाचार