५ जेठ, चितवन । चितवनको विकट इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जङ्गलबाट ल्याइएको विषालु च्याउ खाँदा एउटै परिवारका तीन जना अवोध बालबालिकाको अकालमा मृत्यु भएको छ। जङ्गली च्याउको विषयमा चेतनाको अभाव र त्यसलाई अर्गानिक तरकारी भन्ने गलत सामाजिक बुझाइका कारण एउटै घरका तीन जना बालबालिकाको अकालमा ज्यान गएको हो । अहिले यो घटनाले सिङ्गो कुलबाङ गाउँलाई नै गहिरो शोकमा डुबाएको छ।
मृत्यु हुनेहरूमा स्थानीय श्यामबहादुर चेपाङका ९ वर्षीया छोरी नमुना चेपाङ, ११ वर्षीय छोरा सञ्जय चेपाङ र १३ वर्षीया छोरी मनिता चेपाङ रहेका छन्। परिवारले गत वैशाख २९ गते जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएका थिए। च्याउ खाएको केही समयपछि नै परिवारका सदस्यहरूमा बान्ता हुने, झाडापखाला लाग्ने र पेट दुख्ने जस्ता विषाक्तताका कडा लक्षणहरू देखिएर उनीहरू बिरामी परेका थिए।
गम्भीर अवस्थामा पुगेका तीनै जना बालबालिकालाई ढिला गरी उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो। राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङका प्रधानाध्यापक लोकबहादुर मगरका अनुसार, ९ वर्षीया नमुनाको जेठ १ गते घरमै मृत्यु भइसकेको थियो। अस्पताल पुर्याइएका ११ वर्षीय सञ्जयको शनिबार राति उपचारका क्रममा निधन भयो भने १३ वर्षीया मनिताको आइतबार बिहान अस्पतालमै उपचारका क्रममा मृत्यु भएको हो।
मृतक बालबालिकाहरूमध्ये नमुना कक्षा २, सञ्जय कक्षा ३ र मनिता कक्षा ५ मा अध्ययनरत थिए। बालबालिकाका बुबाआमा भने सकुशल रहेका छन्। तीन जना बालबालिकाको दाहसंस्कार सम्पन्न भइसकेको प्रधानाध्यापक मगरले जानकारी दिनुभयो।
रैथाने भ्रमले निम्त्याउँदैछ विपत्ति
नेपालका दुर्गम तथा सीमान्तकृत चेपाङ, बोटे र दलित बस्तीहरूमा अझै पनि जङ्गली कन्दमूल, तरुल र जङ्गली च्याउलाई विना–परीक्षण अर्गानिक र स्वास्थ्यवर्धक तरकारी मानेर खाने चलन व्यापक छ। जङ्गली च्याउका कारण बर्सेनि मानिसहरूले अकालमा ज्यान गुमाइरहेका समाचार आउँदा समेत गाउँघरमा अझै चेतना पुग्न सकेको छैन। कतिपयले त जङ्गली च्याउलाई स्वादिलो र प्राकृतिक खानेकुरा भन्दै गलत प्रचार गरिदिँदा सर्वसाधारण र विशेष गरी बालबालिकाहरूको जीवन सोझै जोखिममा पर्ने गरेको छ।
जङ्गलमा उम्रिने सबै च्याउ खानयोग्य हुँदैनन् र तिनमा रहेका माइकोटक्सिन (Mycotoxins) जस्ता कडा विषले मानिसको कलेजो र मिर्गौला क्षणभरमै फेल गराउँछ भन्ने वैज्ञानिक तथ्य गाउँका कुनाकाप्चासम्म पुग्न सकेको छैन।
स्थानीय सरकारको दायित्व
यो हृदयविदारक घटनाले स्थानीय सरकार र प्रहरी–प्रशासनको भूमिकामाथि पनि गम्भीर प्रश्न खडा गरिदिएको छ। दुर्गम क्षेत्रका नागरिकको जिउधनको रक्षा गर्नु र उनीहरूलाई सचेत गराउनु स्थानीय पालिकाको प्राथमिक दायित्व हो। जङ्गली च्याउ र विभिन्न प्रजातिका कन्दमूल खाँदा मानिसको अकालमै ज्यान जान सक्छ भन्ने चेतनामूलक सञ्चार, माइकिङ, भित्तेचित्र वा विद्यालय स्तरमा सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्न इच्छाकामना गाउँपालिका र स्थानीय प्रशासन चुक्दा यस्तो ठुलो मानवीय क्षति व्यहोर्नुपरेको स्थानीय बुद्धिजीवीहरूको भनाइ छ।
विज्ञहरूका अनुसार, वर्षायाम सुरु भएसँगै जङ्गलमा अनगिन्ती विषालु च्याउहरू उम्रिने गर्छन्। जङ्गली च्याउ चिन्न सकिँदैन, त्यसैले जङ्गलको च्याउ खाँदै नखाऔँ भन्ने एउटा मात्र सन्देश गाउँ(गाउँमा पुर्याउन सके यस्ता कयौँ अकाल मृत्युलाई रोक्न सकिन्छ।
तीन जना अवोध बालबालिकाको ज्यान जाने गरी घटेको यो भयावह घटनाबाट अब राज्य, स्थानीय सरकार, नागरिक समाज र हरेक परिवारले गम्भीर पाठ सिक्न जरुरी देखिएको छ। अन्यथा, चेतनाको अन्धकारका कारण यस्ता दुखद घटनाहरू दोहोरिइरहने निश्चित छ।


















