Logo

६ जेठ, सिमरा (बारा) । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले नगरभित्र सञ्चालित संस्थागत (निजी) विद्यालयहरूको विस्तृत अनुगमन गरी वर्गीकरण सम्पन्न गरेको छ । उपमहानगरपालिकाको शिक्षा शाखाले स्थलगत निरीक्षणका क्रममा सङ्कलन गरेका विवरण र सूचकका आधारमा विद्यालयहरूको शैक्षिक एवं भौतिक स्तर निर्धारण गरेको हो ।

वर्गीकरणको नतिजा अनुसार उपमहानगरपालिका भित्रका निजी विद्यालयहरूको पूर्वाधारको अवस्था निकै कमजोर देखिएको छ । मूल्याङ्कन गरिएका कुल ४९ वटा संस्थागत विद्यालयहरूमध्ये वडा नम्बर ४ मा रहेको ‘सेन्ट अल्फान्सस् स्कुल’ मात्रै ‘ख’ वर्गमा पर्न सफल भएको छ । बाँकी ४८ वटा विद्यालयहरू न्यूनतम पूर्वाधार मात्रै पुर्‍याएर ‘ग’ वर्गमा समेटिएका छन्। उत्कृष्ट मापदण्डसहित ‘क’ वर्गको गरिमा प्राप्त गर्ने एउटा पनि विद्यालय फेला परेनन् ।

शिक्षा शाखा अधिकृत हरिष भट्टका अनुसार विद्यालयको भौतिक संरचना, कक्षाकोठाको उपलब्धता र खुलापन, खेलमैदानको क्षेत्रफल, छात्र-छात्राका लागि छुट्टाछुट्टै शौचालय, स्वच्छ खानेपानीको प्रबन्ध, विज्ञान तथा कम्प्युटर प्रयोगशाला र आपत्कालीन सुरक्षा मापदण्ड जस्ता पर्यावरणलाई मुख्य सूचक मानेर वर्ग निर्धारण गरिएको हो । विभिन्न चरणमा अनुगमन टोली आफैँ विद्यालय पुगेर सूक्ष्म ढङ्गले विवरण सङ्कलन गरेको थियो ।

निजी विद्यालयहरूले मनपरी ढङ्गले शुल्क असुल गर्ने तर विद्यार्थीलाई पर्याप्त सेवा-सुविधा र शैक्षिक वातावरण नदिने जनगुनासो बढिरहेका बेला उपमहानगरपालिकाले यो कदम चालेको हो । संस्थागत विद्यालयहरूको पूर्वाधारलाई थप व्यवस्थित, उत्तरदायी र गुणस्तरीय बनाउनुका साथै नगरभरिको विद्यालय शुल्कमा वैज्ञानिक एकरूपता ल्याउन यो वर्गीकरण ऐतिहासिक प्रस्थानविन्दु बन्ने शिक्षा शाखाले विश्वास लिएको छ ।

उपमहानगरपालिकाले न्यूनतम मापदण्ड पूरा गर्न बाँकी रहेका र ‘ग’ वर्गमा चित्त बुझाउन बाध्य भएका विद्यालयहरूलाई भौतिक तथा शैक्षिक सुधारका लागि कडा निर्देशन जारी गरेको छ । अधिकृत भट्टले यो उपमहानगरपालिकाको पहिलो अभ्यास भएकाले केही प्राविधिक कमिकमजोरीहरू देखिए पनि आगामी दिनमा थप कडा रूपमा नियमन गरिने प्रष्ट पारे ।

“विद्यालयहरूले आफ्नो भौतिक र शैक्षिक गुणस्तर सुधार नगरे अहिले पाएको वर्गबाट समेत तल झारिनेछ, तर जसले राम्रो सुधार गर्छन् उनीहरूलाई माथिल्लो वर्गमा उक्लिने अवसर दिइनेछ,” अधिकृत भट्टले थपे, “निर्देशन अटेर गर्ने विद्यालयमाथि आगामी दिनमा कारबाहीको कानुनी डण्डा समेत चलाइनेछ ।”

उपमहानगरपालिकाले वर्गीकरणको विस्तृत प्रतिवेदन सार्वजनिक गरेसँगै सबै विद्यालयहरूलाई आ-आफ्नो कमजोरी सच्याउनका लागि सुधारका विशिष्ट बुँदाहरू समेटिएको लिखित सुझाव पत्र उपलब्ध गराउने तयारी गरेको छ । शैक्षिक बेथिति अन्त्यका लागि नियमित अनुगमन कार्यलाई निरन्तरता दिइने उपमहानगरपालिकाले जनाएको छ ।


सम्बन्धित समाचार
भर्खरै