६ जेठ, काठमाडौँ । पश्चिम एसियामा बढ्दो सैन्य तनावका बीच अमेरिकाले इरानको अर्थतन्त्रको मेरुदण्ड मानिने तेल व्यापार र वित्तीय सञ्जालमाथि अहिलेसम्मकै घातक प्रहार गरेको छ । इरानमाथिको आर्थिक दबाबलाई चरमोत्कर्षमा पुर्याउँदै राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले इरानी तेल ढुवानी गर्ने दुई दर्जन जलपोत (जहाज) र अन्तर्राष्ट्रिय वित्तीय सञ्जालमाथि प्रतिबन्धको नयाँ शृङ्खला घोषणा गरेको हो ।
अमेरिकी कोष विभाग (ट्रेजरी) अन्तर्गतको विदेशी सम्पत्ति नियन्त्रण कार्यालय (ओएफएसी) ले इरानले अन्तर्राष्ट्रिय प्रतिबन्धहरू छल्न र अर्बौँ डलर बराबरको अवैध आम्दानी गर्न खडा गरेको गुप्त संयन्त्रलाई निसाना बनाउँदै यो कारबाही अघि बढाएको हो ।
अमेरिकी अर्थ मन्त्रालयका अनुसार यो नयाँ प्रतिबन्धको मुख्य निसाना इरानको सबैभन्दा ठूलो विदेशी मुद्रा विनिमय कम्पनी ‘अमिन एक्सचेन्ज’ बनेको छ । अमिन एक्सचेन्जले संयुक्त अरब इमिरेट्स (यूएई), टर्की, हङकङ र चीन जस्ता मुलुकहरूमा छद्म (फ्रन्ट) कम्पनीहरू खडा गरी इरानका लागि अर्बौँ डलरको अवैध वित्तीय कारोबार गरिरहेको अमेरिकी दाबी छ । प्रतिबन्धको सूचीमा ५० भन्दा बढी कम्पनी, वित्तीय एजेन्ट र तेल ट्याङ्करहरूलाई समेटिएको छ ।
अमेरिकाले इरानी तेल, तरल पेट्रोलियम ग्यास (एलपीजी), मेथानोल तथा पेट्रोकेमिकल उत्पादनहरू विश्व बजारमा तस्करी गर्ने १९ वटा ठूला जहाजमाथि पनि प्रतिबन्ध लगाएको छ । इरानले विदेशी झण्डा प्रयोग गर्ने छद्म जहाज सञ्जाल (घोस्ट फ्लिट) मार्फत अन्तर्राष्ट्रिय नियमहरूको धज्जी उडाउँदै करोडौँ डलर आम्दानी गरिरहेको अमेरिकी अधिकारीहरूको भनाइ छ । सोही आम्दानीबाट इरानले आफ्नो सेना र अमेरिकाद्वारा आतंकवादी सूचीमा राखिएका क्षेत्रीय हतियारधारी समूहहरूलाई हतियार तथा आर्थिक साहायता उपलब्ध गराउँदै आएको अमेरिकाको आरोप छ ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानको अवैध बैंकिङ प्रणालीले आतंकवादी गतिविधिहरूलाई सहयोग पुर्याउन गोप्य रूपमा रकम स्थानान्तरण गर्ने गरेको दाबी गरे । “अमेरिकाले आफ्नो ‘अधिकतम आर्थिक दबाब’ अभियान अन्तर्गत इरानको लुकेको बैंकिङ संरचना र वित्तीय मार्गलाई पूर्ण रूपमा ध्वस्त पार्नेछ,” अर्थमन्त्री बेसेन्टले चेतावनी दिँदै भने, “विश्वभरका वित्तीय संस्थाहरूले आफ्नो प्रणाली इरान र उसका एजेन्टहरूबाट दुरुपयोग हुन नदिन अब अत्यन्तै सतर्क रहनुपर्छ, अन्यथा उनीहरू पनि अमेरिकी कारबाहीको भागीदार बन्नेछन्।”
अमेरिकाको यो कठोर कदमपछि विश्वव्यापी तेल बजारमा इन्धनको मूल्य थप उतारचढाव हुने विश्लेषण गरिएको छ। चीन र टर्की जस्ता मुलुकमा रहेका फ्रन्ट कम्पनीमाथि अमेरिकाले हात हालेपछि यसले वासिङ्टनको बेइजिङ र अङ्कारासँगको कूटनीतिक सम्बन्धमा समेत नयाँ तनाव थप्ने भू-राजनीतिक विश्लेषकहरूको अनुमान छ ।


















