Logo

६ जेठ,काठमाडौं ।  धनन्जय रेग्मी ले सुगौली सन्धिबारे आफूहरूले अध्ययन गर्न नपाएको बताएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले सुगौली सन्धिको कपी उपलब्ध गराउन माग गरेका हुन् ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री शिशिर खनाल उपस्थित थिए । सो क्रममा सांसद रेग्मीले सीमा समस्यासम्बन्धी विषय उठाउँदै भने, “बोर्डरको समस्या के हो ? सुगौली सन्धि के रहेछ ? पढ्न पाएनौं । त्यसको कपी कहाँ छ ? पढ्न पाए थाहा लाग्दथ्यो ।”

फरक प्रसङ्गमा उनले नेपालमा ‘रिसर्चर भिसा’ व्यवस्था आवश्यक रहेको धारणा पनि राखे । हाल अनुसन्धानकर्ताहरू पर्यटक भिसामा नेपाल आउने गरेको उल्लेख गर्दै उनले रिसर्च भिसा व्यवस्था गरिए अनुसन्धान र शैक्षिक गतिविधिलाई थप सम्मान तथा प्रोत्साहन मिल्ने बताए ।

“नेपालमा रिसर्चर भिसा दिने गरिएको छैन । रिसर्चरहरू टुरिस्ट भिसामा आउने गर्दछन् । उनीहरूलाई रिसर्च भिसा दिए सम्मान पनि बढ्छ, प्रोत्साहन पनि हुन्छ,” उनले भने ।

विदेशमा रहेका नेपालीहरूको यथार्थ तथ्यांक संकलन आवश्यक रहेको उल्लेख गर्दै उनले गैरआवासीय नेपाली, विदेश अध्ययनमा गएका विद्यार्थी तथा विदेशिएको रकमको अवस्थाबारे स्पष्ट जानकारी हुनुपर्ने बताए ।

“एनआरएनको संख्या कति छ ? कति विद्यार्थी गएका छन् ? कति पैसा कुन च्यानलबाट बाहिरिएको छ ? समस्या पहिचान गरेपछि समाधान गर्न सकिन्छ,” उनले भने, “हामीले रेमिटेन्स आएको मात्रै हेरेका छौं, गएको हेरेनौं ।”

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्र मन्त्रालयको नीति, योजना तथा चालु कार्यक्रमबारे छलफल भइरहेको छ ।


सम्बन्धित समाचार
भर्खरै