राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनलाई लक्षित गर्दै संगठन विस्तार तथा अधिवेशन प्रक्रिया तीव्र बनाएको छ। पार्टीले वडा, पालिका र जिल्लास्तरका भेला तथा अधिवेशन सम्पन्न गर्न केन्द्रीय तहका नेताहरूलाई देशभर विभिन्न जिल्लामा खटाउने निर्णय गरेको हो।
असार ७ देखि ९ गतेसम्म चितवनमा पहिलो महाधिवेशन गर्ने तयारी गरिरहेको रास्वपाले त्यसअघि सबै तहका संगठनात्मक संरचना पूर्ण गर्ने लक्ष्यसहित कार्ययोजना अघि सारेको छ।
पार्टीका अनुसार केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, सांसद, संघीय नेतृत्व मञ्च तथा विभिन्न विभागका नेताहरूलाई जिल्ला–जिल्ला जिम्मेवारी दिइएको छ। उनीहरूले सम्बन्धित जिल्लामा भेला तथा अधिवेशनको समन्वय गर्नेछन्।
वडा र पालिका तहका अधिवेशन यसअघि नै चरणबद्ध रूपमा सञ्चालन भइरहेको छ। जेठ २ र ३ गते केही वडामा भेला तथा अधिवेशन सम्पन्न भइसकेका छन् भने अर्को चरणको वडा अधिवेशन जेठ १६ गते तय गरिएको छ। त्यस्तै पालिका अधिवेशन जेठ १० र १७ गते, जिल्ला अधिवेशन जेठ २३ र २४ गते तथा प्रदेश अधिवेशन जेठ २६ देखि असार १ गतेसम्म गर्ने कार्यतालिका रहेको छ।
पार्टीले वडा र पालिकामा कम्तीमा ३० प्रतिशत संरचना सक्रिय भए पनि माथिल्लो तहको अधिवेशन अघि बढाउन सकिने निर्णय गरेको जनाएको छ।
केन्द्रीय प्रतिनिधिहरूलाई वडा तथा पालिकास्तरका भेला नभएका स्थानमा सहजीकरण गर्ने, आवश्यक परे तदर्थ समिति गठन गर्ने र अधिवेशन प्रक्रिया अघि बढाउने जिम्मेवारी दिइएको छ।
प्रतिनिधि छनोटमा सांसदहरूलाई सकेसम्म उनीहरूको आफ्नै जिल्ला तोकिएको छ भने मन्त्रीहरूलाई महाधिवेशनसम्बन्धी जिम्मेवारीबाट अलग राखिएको छ। साथै, भौगोलिक रूपमा ठूलो जिल्लामा बढी प्रतिनिधि खटाइएको पार्टीले जनाएको छ।
जिम्मेवारी बाँडफाँडअनुसार महामन्त्री कविन्द्र बुर्लाकोटीलाई गोरखा, सहमहामन्त्री विपिन आचार्यलाई दाङ, सचेतक क्रान्तिशिखा धिताललाई रोल्पा, प्रवक्ता मनिष झालाई धनुषा, सहप्रवक्ता रमेश प्रसाईलाई ताप्लेजुङ, पूर्व उपसभामुख इन्दिरा रानामगर तथा पूर्व सचेतक निशा डाँगीलाई झापा र सांसद रञ्जु दर्शनालाई काठमाडौं जिल्लाको जिम्मेवारी दिइएको छ।
कसलाई कहाँ खटाइयो ? हेर्नुहोस् सूची


















