Logo

 ६ जेठ,काठमाडौं ।  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्ने स्पष्ट पारेका छन्।

प्रतिनिधि सभाको आकस्मिक र शून्य समयमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रतालाई सरकारले कुनै हालतमा सीमित गर्न नसक्ने बताए। उनले सरकारले चाहेर पनि प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न नसक्ने उल्लेख गरे।

तर, उनले स्वतन्त्रतालाई स्वच्छन्दतासँग नजोड्न आग्रह गर्दै सञ्चार माध्यमहरू पनि जवाफदेही र मर्यादित हुनुपर्नेमा जोड दिए। “प्रेस स्वतन्त्रता पूर्ण रूपमा सुनिश्चित छ, तर स्वतन्त्रता स्वच्छन्दता होइन,” उनले भने, “जवाफदेही पत्रकारिता आवश्यक छ।”

मन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्रलाई राज्यको महत्वपूर्ण अंगका रूपमा उल्लेख गर्दै यसको गरिमा कायम राख्नुपर्ने धारणा राखे। उनले सञ्चार माध्यमहरूले आफ्नो जिम्मेवारीअनुसार काम गर्दा सरकारले चाहेर पनि हस्तक्षेप गर्न नसक्ने दाबी गरे।

उनले प्रेस काउन्सिललाई थप सशक्त बनाउने सरकारको तयारी रहेको जानकारी दिँदै यसका लागि आवश्यक प्रक्रिया अघि बढाइएको बताए।

यसअघि संसदमा केही सांसदहरूले सरकारले प्रेसमाथि प्रतिबन्ध लगाउने प्रयास गरेको भन्दै प्रश्न उठाएका थिए भने केहीले प्रेस काउन्सिललाई प्रभावकारी बनाउन माग गरेका थिए।


सम्बन्धित समाचार
भर्खरै