६ जेठ,काठमाडौं । बाराको तदर्थ समिति भंग गर्दै रास्वपाले नयाँ संगठन निर्माण प्रक्रिया सुरु गर्ने तयारी गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाराको तदर्थ समिति भंग गरी नयाँ समिति गठनका लागि केन्द्रबाट जिम्मेवारी तोकेको छ। सम्पर्क विभागका समन्वय प्रमुख प्रदीप तिमल्सेना (साजन) लाई जिल्ला तहको नयाँ संगठन निर्माण गर्ने जिम्मेवारी दिइएको छ।
संगठन विभागका उपप्रमुख बोधनारायण श्रेष्ठका अनुसार तिमल्सेनालाई वडा देखि जिल्ला तहसम्मको अधिवेशन गराएर नयाँ समिति गठन गर्ने जिम्मा दिइएको हो। जेठ ९ गते विस्तारित बैठक बोलाएर नयाँ समिति गठन प्रक्रिया सुरु गरिने तिमल्सेनाले जानकारी दिएका छन्।
बारामा संगठनभित्र देखिएको विवादका कारण तदर्थ समिति भंग गरिएको हो। यसअघि जिल्ला संगठन निर्माण विशेष समितिकी संयोजक कामिनी चौधरीले सदस्यता वितरण बाहेक सबै गतिविधि रोक्न निर्देशन दिएकी थिइन्।
पार्टीले बाराको संगठनात्मक समस्या समाधानका लागि विस्तारित बैठकमार्फत छलफल अघि बढाउने जनाएको छ।