६ जेठ,काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने विषयमा सबैसँग छलफल गर्न तयार रहेको बताएका छन् ।
महोत्तरीको बर्दिबासमा बुधबार आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’लाई सम्बोधन गर्दै सभापति थापाले पार्टीभित्र सहमति र एकता कायम गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।
“म सबै कुरामा छलफल गर्न तयार छु । सबै कुरा मिलाउन तयार छु,” उनले भने, “साथीहरूको चित्त बुझाएर गर्छु । पार्टी मिलाएर जान्छु ।”
उनले संस्थापन इतर समूहका नेताहरूलाई क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियामा अवरोध नगर्न आग्रह समेत गरे । पार्टी बलियो बनाउन सदस्यता अद्यावधिक महत्वपूर्ण रहेको उनको भनाइ थियो ।
“पार्टी बलियो बनाउने कुरामा, पार्टीको सदस्यलाई बलियो बनाउने कुरामा कृपया अध्यावधिक गर्ने विषयमा कसैले खिचपिच नगर्दिनु होला,” उनले भने ।
सभापति थापाले सदस्यता अद्यावधिकको विरोध भइरहेको विषय आफूलाई अचम्म लागेको प्रतिक्रिया दिए । कुनै पनि क्रियाशील सदस्यले चाहेको बेलासम्म सदस्यता अद्यावधिक गर्न पाउने उनले स्पष्ट पारे ।
त्यस्तै उनले पार्टीका उम्मेदवारविरुद्ध मतदान गर्ने क्रियाशील सदस्यलाई कारबाही गरिने चेतावनी पनि दोहोर्याए । उनका अनुसार पार्टीको नेता वा क्रियाशील सदस्य भएर आधिकारिक उम्मेदवारलाई असहयोग गर्न नपाइने बताए ।
“मन परे पनि, मन नपरे पनि, आएको उम्मेदवारलाई रुख चिन्हभन्दा दायाँबायाँ गरेर मत हाल्छु भन्ने कुरा पाइँदैन,” उनले भने ।
गत निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई मत नदिने नेताहरूलाई केही समयका लागि पार्टी सदस्यताबाट बाहिर राखिने नीति कायम रहने उनले बताए ।


















