Logo

६ जेठ,काठमाडौं । बाँकेकी रूबी खान ले निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी घटनाको निष्पक्ष अनुसन्धानको माग राख्दै जारी राखेको २३ दिने अनशन अन्त्य गरेकी छन् । सरकारसँग ५ बुँदे सहमति भएपछि उनले अनशन तोडेकी हुन् ।

नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज मा अनशनरत खानलाई प्रधानमन्त्री बालेन्द्र शाह का प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहाल ले पानी खुवाएर अनशन अन्त्य गराएकी थिइन् ।

सरकारका तर्फबाट वार्ताका लागि प्रहरी प्रधान कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौर, गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्ले र दिपा दाहाल सम्मिलित विशेष टोली खटिएको थियो ।

सोमबारदेखि निरन्तर भएको वार्तापछि गृह मन्त्रालयका सहसचिव काफ्ले र अधिकारकर्मी खानबीच सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सहमति अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा २०७७ चैत २० गते दर्ता भएको निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी मुद्दाको हालसम्मको अनुसन्धान अध्ययन गरी यथाशीघ्र न्यायिक प्रक्रियामा लैजाने उल्लेख गरिएको छ ।

त्यस्तै, खानले उठाएका अन्य घटनाको अनुसन्धान लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट गराइने तथा अनुसन्धानमा कमजोरी भेटिए सम्बन्धित प्रहरी कर्मचारीमाथि कानुनी कारबाही गरिने प्रतिबद्धता सरकारले जनाएको छ ।

खानविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता भएको ‘सार्वजनिक शान्ति विरुद्धको कसुर’ सम्बन्धी मुद्दाको अनुसन्धान पनि तत्काल टुंग्याइने सहमति भएको छ । साथै, उक्त मुद्दामा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुखसहित संलग्न प्रहरी कर्मचारीहरूको भूमिकाबारे प्रहरी प्रधान कार्यालयले छानबिन गर्ने जनाइएको छ ।

सहमतिमा निर्मला कुर्मीको न्यायका लागि आन्दोलनरत रूबी खान तथा अन्य महिला अधिकारकर्मीहरूको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय बाँके र जिल्ला प्रशासन कार्यालयलाई आवश्यक निर्देशन दिने विषय पनि समेटिएको छ ।

सहमति पत्रमा मानव अधिकार तथा महिला अधिकार क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले रोहवरका रूपमा हस्ताक्षर गरेका छन् । रोहवरमा इन्सेक लुम्बिनी प्रदेश का संयोजक भोला महत, एड्भोकेसी फोरम लुम्बिनी प्रदेश का संयोजक वसन्त गौतम, महिला अधिकार मञ्चका प्रवक्ता मोहम्मद शेर बागवान, अध्यक्ष मनकुमारी गुरताल र सदस्य गीता रैदास सहभागी रहेका थिए ।


सम्बन्धित समाचार
भर्खरै