Logo

६ जेठ,काठमाडौं । भारतमा यतिबेला ‘कक्रोच जनता पार्टी’ नामक व्यंग्यात्मक डिजिटल आन्दोलन सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ । सुरुमा इन्टरनेट मजाकका रूपमा देखिएको यो अभियान अहिले लाखौँ भारतीय युवाको बेरोजगारी, राजनीतिक निराशा र सामाजिक असन्तुष्टिको प्रतीकका रूपमा विकसित भएको छ ।

‘म पनि कक्रोच’ भन्ने नारासहित फैलिएको यो अभियानमा सामाजिक सञ्जालमा लाखौँ पोस्ट, मीम, भिडियो तथा व्यंग्यात्मक राजनीतिक सामग्रीहरू सार्वजनिक भइरहेका छन् ।

यो आन्दोलनको सुरुवात भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्यकान्त को विवादास्पद भनाइपछि भएको बताइएको छ । मे १५ मा भएको एक सुनुवाइका क्रममा उनले बेरोजगार युवालाई ‘कक्रोचजस्ता युवा’ भन्ने आशयको टिप्पणी गरेको आरोप लागेपछि सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया सुरु भएको थियो ।

दिल्ली उच्च अदालतमा वरिष्ठ वकिल नियुक्तिसम्बन्धी मुद्दाको बहसका क्रममा उनले नक्कली डिग्री लिएर कानुनी क्षेत्रमा प्रवेश गर्ने व्यक्तिहरूप्रति लक्षित टिप्पणी गरेको दाबी गरे पनि युवाहरूले त्यसलाई आफूहरूमाथिको अपमानका रूपमा लिएका थिए ।

विवाद चर्किएपछि प्रधानन्यायाधीश सूर्यकान्तले आफ्नो अभिव्यक्ति गलत रूपमा प्रस्तुत गरिएको भन्दै स्पष्टीकरण दिएका थिए । उनले भारतीय युवालाई ‘विकसित भारतका आधारस्तम्भ’ भएको बताएका थिए ।

तर त्यसबेलासम्म सामाजिक सञ्जालमा नयाँ डिजिटल आन्दोलन जन्मिइसकेको थियो । अभिजीत दीपके नामका ३० वर्षीय विद्यार्थीले एक्समा ‘सबै कक्रोचहरू एकजुट भए भने के हुन्छ ?’ भन्ने पोस्ट गरेपछि अभियानले व्यापक रूप लिएको हो ।

हाल बोस्टन विश्वविद्यालय मा पब्लिक रिलेसन्स अध्ययनरत दीपकेले त्यसपछि ‘कक्रोच जनता पार्टी’ नाममा वेबसाइट तथा सामाजिक सञ्जाल प्लेटफर्महरू सञ्चालन गरेका थिए । भारतीय जनता पार्टीको नामलाई व्यंग्य गर्दै राखिएको यो अभियानले युवालाई ‘नयाँ राजनीतिक अभिव्यक्ति’का रूपमा जोडिन आह्वान गरेको छ ।

दीपकेका अनुसार भारतका युवाहरू अहिलेको राजनीतिक प्रणालीसँग आफूलाई जोडिएको महसुस गर्दैनन् । “सत्तामा बसेकाहरूले नागरिकलाई कक्रोच र परजीवी ठान्छन्,” उनले भनेका छन्, “तर उनीहरूले बुझ्नुपर्छ कि कक्रोचहरू सडेगलेका ठाउँमा जन्मिन्छन् ।”

आन्दोलन सुरु भएको ४८ घण्टाभित्रै यसले लाखौँ मानिसको ध्यान तानेको बताइएको छ । अभियानले पार्टी एन्थम, वेबसाइट तथा सदस्यता अभियान सार्वजनिक गरेको छ । सामाजिक सञ्जालमा यसको इन्स्टाग्राम अकाउन्टमा ३० लाखभन्दा बढी फलोअर पुगेको दाबी गरिएको छ भने लाखौँ प्रयोगकर्ताले यसको सामग्री साझा गरिरहेका छन् ।

‘म पनि कक्रोच’, ‘कक्रोच रिभोलुशन’ र ‘अल्छी छौँ, तर जीवित छौँ’ जस्ता ह्यासट्याग भारतभर ट्रेन्ड भइरहेका छन् । आन्दोलनले आफूलाई ‘धर्मनिरपेक्ष, समाजवादी, प्रजातान्त्रिक, अल्छी’ आन्दोलनका रूपमा प्रस्तुत गरेको छ ।

आन्दोलनले बेरोजगारी, परीक्षा घोटाला, मतदाता हेरफेर, न्यायिक नियुक्ति, कर्पोरेट मिडियाको प्रभाव तथा युवाको प्रतिनिधित्वजस्ता विषय समेटिएको घोषणापत्र पनि सार्वजनिक गरेको छ ।

विशेषगरी ‘निट’ परीक्षा पेपर लिक प्रकरणमा आन्दोलन आक्रामक बनेको छ । सामाजिक सञ्जालमार्फत अभियानले भारतका शिक्षा मन्त्रीको राजीनामा माग गर्दै “विद्यार्थीहरू आत्महत्या गरिरहेका छन्, अब जवाफदेहिता सुनिश्चित गर्नुपर्छ” भन्ने पोस्ट सार्वजनिक गरेको थियो ।

विश्लेषकहरूका अनुसार भारतमा पछिल्ला वर्षहरूमा बढ्दो बेरोजगारी, परीक्षा घोटाला, राजनीतिक ध्रुवीकरण तथा युवाको असन्तुष्टिले यस्तो डिजिटल आन्दोलनलाई उचाइमा पुर्‍याएको हो ।

यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदी को नर्वे भ्रमणका क्रममा प्रेस स्वतन्त्रतासम्बन्धी प्रश्न उठेपछि सामाजिक सञ्जालमा थप बहस चर्किएको छ । नर्वेजियन पत्रकारले भारतमा प्रेस स्वतन्त्रता र पत्रकार सम्मेलन नगर्ने विषयमा प्रश्न गरेपछि मोदीले प्रत्यक्ष जवाफ नदिएको भिडियो भाइरल बनेको थियो ।

विश्लेषकहरूले ‘कक्रोच जनता पार्टी’लाई केवल इन्टरनेट मजाक नभई भारतमा विकसित भइरहेको नयाँ पुस्ताको डिजिटल राजनीतिक प्रतिरोधको संकेतका रूपमा व्याख्या गरिरहेका छन् ।

भारतीय युट्युबर मेघनाद एस ले यो अभियानलाई “मजाकबाट जन्मिएको गम्भीर राजनीतिक टिप्पणी” भनेका छन् । उनका अनुसार धेरै युवा परम्परागत राजनीतिक दलभन्दा बाहिर वैकल्पिक राजनीतिक अभिव्यक्ति खोजिरहेका छन् ।


सम्बन्धित समाचार
भर्खरै