Logo

 ६ जेठ,काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा बागमती र गण्डकी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा उच्च हुने देखिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालय ले बुधबार सार्वजनिक गरेको प्रादेशिक लेखा तथ्यांकअनुसार बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी ५.४० प्रतिशत र गण्डकीको ५.०१ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ ।

यसैबीच चालु आर्थिक वर्ष राष्ट्रिय कुल गार्हस्थ उत्पादन (GDP) को वार्षिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिएको छ ।

तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी तथा प्रवक्ता ढुण्डीराज लामिछाने का अनुसार बागमती र गण्डकीको वृद्धिदर राष्ट्रिय औसतभन्दा राम्रो देखिएको हो ।

अन्य प्रदेशमध्ये सबैभन्दा कमजोर आर्थिक वृद्धिदर मधेस प्रदेशको १.३१ प्रतिशत रहने अनुमान गरिएको छ । कोशी ३.१३ प्रतिशत, लुम्बिनी २.८७ प्रतिशत, कर्णाली २.९४ प्रतिशत र सुदूरपश्चिम ३.२८ प्रतिशत रहने प्रक्षेपण छ ।

गत वर्षको तुलनामा बागमती, कोशी, गण्डकी र सुदूरपश्चिमको आर्थिक वृद्धिदरमा सुधार देखिएको छ भने मधेस र लुम्बिनीमा गिरावट आएको तथ्यांकले देखाएको छ ।

अर्थतन्त्रको आकारमा पनि बागमती नै अग्रस्थानमा रहेको छ । चालु आव देशको कुल अर्थतन्त्र करिब ६६ खर्ब हुने अनुमान छ, जसमा बागमती प्रदेशले मात्रै २४ खर्ब २३ अर्ब (३६.७ प्रतिशत) हिस्सा ओगट्ने छ ।

कोशीले १५.८ प्रतिशत, लुम्बिनीले १४.२ प्रतिशत, मधेसले १३.१ प्रतिशत, गण्डकीले ९ प्रतिशत, सुदूरपश्चिमले ७ प्रतिशत र कर्णालीले ४.२ प्रतिशत हिस्सा ओगट्ने अनुमान छ ।

प्रतिव्यक्ति आयतर्फ पनि बागमती अग्रस्थानमा रहेको छ । बागमतीमा प्रतिव्यक्ति आय २,६४४ अमेरिकी डलर, गण्डकीमा १,६५१ डलर र मधेसमा सबैभन्दा कम ९३४ डलर रहने अनुमान गरिएको छ । राष्ट्रिय औसत प्रतिव्यक्ति आय १,५१३ डलर रहने प्रक्षेपण छ ।

तथ्यांकअनुसार बागमती बाहेक सबै प्रदेशमा कृषि क्षेत्रको योगदान प्रमुख छ भने बागमतीमा थोक तथा खुद्रा व्यापार क्षेत्र प्रमुख आर्थिक क्रियाकलापको रूपमा रहेको छ ।


सम्बन्धित समाचार