६ जेठ,काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले इबोला संक्रमणका शंकास्पद बिरामी र मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने चेतावनी दिएको छ ।
डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयसस ले जेनेभामा पत्रकारहरूसँग कुरा गर्दै भाइरस पहिचानमा ढिलाइ हुँदा संक्रमणको वास्तविक अवस्था अझ गम्भीर हुन सक्ने बताएका हुन् ।
उनका अनुसार हालसम्म करिब ६ सय शंकास्पद संक्रमित र १३९ शंकास्पद मृत्यु दर्ता भएका छन् ।
हालसम्म प्रजातान्त्रिक गणतन्त्र कंगो मा ५१ र छिमेकी युगाण्डा मा २ गरी ५३ जनामा इबोला संक्रमण पुष्टि भएको डब्लूएचओले जनाएको छ ।
संक्रमण ‘बुन्डिबुग्यो’ प्रजातिको इबोला भाइरसबाट फैलिएको हो, जुन सम्भवतः केही महिनाअघि नै सुरु भएको अनुमान गरिएको छ ।
डब्लूएचओका अनुसार पहिलो संक्रमित पूर्वी इटुरी प्रान्तकी एक नर्स थिइन्, जसको लक्षण देखिएपछि मृत्यु भएको थियो । त्यसपछि संक्रमण मोंग्वालु, बुनिया, र्वाम्पारा र न्याकुन्डे लगायत क्षेत्रमा फैलिएको छ ।
उत्तर किभुका केही क्षेत्रमा पनि संक्रमण पुष्टि भएको छ भने युगाण्डामा भेटिएका संक्रमित कंगोबाट यात्रा गरेर पुगेका व्यक्ति भएको बताइएको छ ।
डब्लूएचओले हालको अवस्थालाई ‘अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल’ घोषणा गरिसकेको छ । यद्यपि यसलाई महामारी (प्यान्डेमिक) स्तरको संकट भने मानिएको छैन ।
महानिर्देशक घेब्रेयससले आपतकालीन समितिको निष्कर्ष उद्धृत गर्दै विश्वव्यापी जोखिम कम भए पनि क्षेत्रीय जोखिम उच्च रहेको बताएका छन् ।
डब्लूएचओका अनुसार कंगोको पूर्वी क्षेत्रमा द्वन्द्व र कमजोर स्वास्थ्य प्रणालीका कारण संक्रमण नियन्त्रणमा थप चुनौती देखिएको छ ।
विशेषगरी ‘बुन्डिबुग्यो’ प्रजातिको इबोलाविरुद्ध स्वीकृत खोप उपलब्ध नभएकाले उपचार र रोकथाम अझ कठिन बनेको जनाइएको छ ।


















