Logo

७ जेठ, वीरगञ्ज । बाराको नितनपुरमा रहेको बहुराष्ट्रिय कम्पनी डाबर नेपाल प्रालिको चर्चित उत्पादन ‘डाबर हनी’ (मह) सरकारी परीक्षणमै न्यून गुणस्तरको (कमसल) भेटिए पनि कम्पनीले सरकारी निर्देशनको ठाडो उल्लङ्घन गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त मह न्यून गुणस्तरको फेला परेपछि बजारबाट तत्काल फिर्ता गर्न र बिक्री वितरण रोक्न आदेश दिए पनि डाबर नेपालले त्यसलाई पूर्ण रूपमा अटेरी गरेको पाइएको हो।

अहिले पनि देशका विभिन्न ठुला डिपार्टमेन्टल स्टोरहरू, भाटभटेनी सुपरमार्केट, मार्ट तथा गल्ली गल्लीका किराना पसलहरूमा डाबर नेपालले उत्पादन गरेको सोही ब्याचको मह निर्बाध रूपमा बिक्री वितरण भइरहेको छ, जसले आम उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गरिरहेको पुष्टि हुन्छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट संकलन गरेका नमुनाहरूको प्रयोगशाला परीक्षण गर्दा डाबर हनीको गुणस्तर तोकिएको मापदण्ड भन्दा निकै कम र मानव उपभोगका लागि अयोग्य भेटिएको जनाएको थियो। नमुना परीक्षणमा कैफियत देखिएपछि विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ (२) को स्पष्ट प्रावधान बमोजिम उक्त ब्याच नम्बरका सबै मह बजारबाट तत्काल फिर्ता गर्न र अर्को सूचना नभएसम्म बिक्रीमा पूर्ण बन्देज लगाउन उत्पादक कम्पनी डाबर नेपाललाई कडा आदेश दिएको थियो। तर कम्पनीले नाफालाई मात्र केन्द्रित गर्दै बजारबाट आफ्ना न्यून गुणस्तरका उत्पादन उठाउन कुनै चासो देखाएको छैन।

म्याग्नेसियम ग्लाइसिनेटको प्रयोगमा पनि प्रतिबन्ध

यसैगरी, विभागले म्याग्नेसियम ग्लाइसिनेट (Magnesium Glycinate) मिसावट रहेका वा प्रयोग गरिएका कुनै पनि खाद्य पदार्थको उत्पादन तथा बिक्री वितरण नगर्न समेत कडा आग्रह गरेको छ। यस्ता प्रतिबन्धित तथा न्यून गुणस्तरका खाद्य पदार्थ बजारमा बिक्री वितरण गरिएको पाइएमा नयाँ खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम हदैसम्मको कानुनी कारबाही र जरिबाना हुने विभागले चेतावनी दिएको छ।

व्यावसायिक रूपमा बजारमा पठाइने न्यून गुणस्तरका महहरूमा प्रायः चिनीको चास्नी (सुगर सिरप), जनस्वास्थ्यका लागि हानिकारक रङ, र रसायनहरू मिसावट गर्ने गरिन्छ। डाबर जस्तो स्थापित ब्रान्डको मह नै न्यून गुणस्तरको हुनु र बजारबाट फिर्ता नलिनुले उपभोक्तामा गम्भीर चिन्ता थपेको छ। यस्तो महको प्रयोगले मानव स्वास्थ्यमा घातक असरहरू पार्ने चिकित्सक तथा स्वास्थ्य विज्ञहरू बताउँछन् ।

डावरको मह सेवन गर्दा स्वास्थ्यमा कस्तो असर पर्छ ?

कमसल महमा अत्यधिक मात्रामा हाई फ्रुक्टोज कर्न सिरप वा चिनीको चास्नी मिसाइने हुँदा यसको नियमित सेवनले रगतमा चिनीको मात्रा (Blood Sugar Level) तीव्र रूपमा बढाउँछ। यसले गर्दा स्वस्थ मानिसलाई पनि मधुमेह र मोटोपनको शिकार बनाउँछ।

महलाई लामो समयसम्म बिग्रन नदिन वा कृत्रिम रूपमा गाढा बनाउन प्रयोग गरिने अखाद्य रसायन र म्याग्नेसियम ग्लाइसिनेट जस्ता तत्वहरूको बढी प्रयोगले शरीरका संवेदनशील अङ्गहरू जस्तै कलेजो र मिर्गौलालाई बिस्तारै फेल गराउन सक्छ।

प्रयोगशालामा मापदण्ड फेल भएको महमा हानिकारक ब्याक्टेरिया र ढुसी (Molds) को संक्रमण हुन सक्छ। यसको सेवनले पेट दुख्ने, बान्ता हुने, झाडापखाला लाग्ने र फुड पोइजनिङ हुने उच्च सम्भावना रहन्छ।

कमसल वा मिसावटयुक्त मह साना बालबालिकाहरूलाई खुवाउँदा उनीहरूको शारीरिक तथा मानसिक विकासमा अवरोध पुग्ने र एलर्जी तथा दम (Asthma) जस्ता स्वासप्रश्वासको समस्या निम्तिन सक्छ।

मूकदर्शक बन्दै नियमनकारी निकाय

सरकारी ल्याबले नै डाबरको महलाई न्यून गुणस्तरको प्रमाणित गरिसक्दा र बजारमा अझै पनि यसको बिक्री जारी रहँदा समेत उपभोक्ता अधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन्। विभागले कागजमा आदेश दिए पनि बजार अनुगमन र जफत प्रक्रिया फितलो बनाएका कारण डाबर नेपालले उन्मुक्ति पाइरहेको उनीहरूको आरोप छ।

आम नागरिकको जीवनसँग जोडिएको मह जस्तो संवेदनशील वस्तुमा भएको यो खेलबाडमाथि तत्काल बजार अनुगमन गरी दोषी कम्पनीलाई ऐन बमोजिम सिलबन्दी र कारबाही गर्न उपभोक्ताहरूले जोडदार माग गरेका छन्।


सम्बन्धित समाचार