Logo

 ७ जेठ,काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी) को एक्स (पूर्व ट्विटर) अकाउन्ट भारतमा रोक लगाइएको छ। इन्स्टाग्राममा १ करोड १७ लाखभन्दा बढी फलोअर्स पार गर्दै भारतीय जनता पार्टी (भाजपा) को आधिकारिक अकाउन्टलाई उछिनेको केही घण्टामै अकाउन्ट ब्लक गरिएको हो।

हाल भारतीय जनता पार्टी (भाजपा) को इन्स्टाग्राममा करिब ८७ लाख फलोअर्स रहेका छन्।

जेनजी पुस्तामाझ तीव्र रूपमा लोकप्रिय बन्दै गएको व्यंग्यात्मक राजनीतिक अभियान ‘कक्रोच जनता पार्टी’ को एक्स अकाउन्ट बिहीबार भारतमा बन्द गरिएको बताइएको छ। पार्टीका संस्थापक अभिजीत दीपके ले सामाजिक सञ्जालमार्फत अकाउन्ट ब्लक भएको स्क्रिनसट सार्वजनिक गर्दै यसको पुष्टि गरेका हुन्।

दीपकेले प्रतिक्रिया दिँदै लेखेका छन्, “अपेक्षा गरेजस्तै, कक्रोच जनता पार्टीको अकाउन्ट भारतमा रोकिएको छ।”

केही दिनअघि मात्रै व्यंग्यात्मक अनलाइन अभियानका रूपमा सुरु भएको यो आन्दोलन अहिले बेरोजगारी, प्रश्नपत्र चुहावट, राजनीतिक भाष्य र संस्थागत जवाफदेहिताप्रति युवाहरूको असन्तुष्टिको प्रतीक बन्दै गएको छ।

हास्य, मिम र राजनीतिक सन्देशलाई संयोजन गरेर अघि बढाइएको यो अभियानले छोटो समयमै ठूलो डिजिटल समर्थन जुटाएको छ।

‘कक्रोच जनता पार्टी’ नाम भारतका प्रधानन्यायाधीश सूर्यकान्त को कथित विवादास्पद अभिव्यक्तिपछि चर्चामा आएको हो। केही बेरोजगार युवा तथा अनलाइन अभियन्तालाई ‘कक्रोच’ र ‘परजीवी’ सँग तुलना गरिएको भनिएपछि सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया देखिएको थियो।


सम्बन्धित समाचार