Logo

७ जेठ, (माडी) चितवन । चितवनको माडी माध्यमिक विद्यालय, बसन्तपुरको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा माडी–१ का पूर्व वडाध्यक्ष कृष्ण पौडेल सर्वसम्मत रूपमा चयन हुनुभएको छ। शिक्षा, कृषि र सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय एवं बौद्धिक व्यक्तित्व पौडेलको नेतृत्वमा विद्यालयको समग्र शैक्षिक गुणस्तर थप उकासिने अपेक्षा गरिएको छ।

गत वैशाख ३१ गते सम्पन्न अभिभावक भेलाबाट चयन भएका अभिभावक प्रतिनिधिहरूको विशेष बैठकले पौडेललाई आज सर्वसम्मत रूपमा विद्यालय व्यवस्थापन समिति अध्यक्षको महत्वपूर्ण जिम्मेवारी सुम्पिएको हो। यसअघि सम्पन्न अभिभावक भेलाबाट समितिको सदस्यहरूमा प्रमिला महतो, अमृता केसी र नवीन बस्याल चयन हुनुभएको थियो भने शिक्षक अभिभावक सङ्घको संयोजकमा शुलभ बन्धु पोख्रेल चयन हुनुभएको थियो।

नवनियुक्त अध्यक्ष पौडेल शैक्षिक तथा बौद्धिक वृत्तमा स्थापित नाम हो। युरोपेली मुलुक नर्वेबाट उच्च शिक्षा हासिल गर्नुभएका पौडेलसँग काठमाडौँ विश्वविद्यालयमा लामो समय प्राध्यापन, अध्यापन गरेको उच्च शैक्षिक अनुभव समेत छ। शिक्षित र दूरदर्शी व्यक्तित्वका रूपमा परिचित पौडेल हाल माडीमै व्यावसायिक कृषि तथा आधुनिक पशुपालन क्षेत्रमा सक्रिय हुनुहुन्छ।

कृषिलाई समाजमा एक सम्मानित र मर्यादित पेसाका रूपमा स्थापित गर्न उहाँले निरन्तर उदाहरणीय कार्य गर्दै आउनुभएको छ, जसका कारण उहाँ स्थानीय युवा पुस्ताका लागिसमेत प्रेरणाको बलियो स्रोत बन्नुभएको छ।

स्थानीय स्तरमा सामाजिक रूपान्तरण र भौतिक विकास निर्माणका गतिविधिमा सधैँ अग्रणी भूमिका निर्वाह गर्दै आउनुभएका पौडेल माडीको बाढी प्रभावित क्षेत्रका जनताको समस्या समाधान र उद्धारमा समेत सधैँ अग्रसर रहने परोपकारी व्यक्तित्व हुन्। शिक्षा जस्तो संवेदनशील क्षेत्रमा उहाँको अनुभव, अध्ययन र कुशल नेतृत्वले विद्यालयमा व्यापक सकारात्मक परिवर्तन ल्याउने विश्वास स्थानीय अभिभावक, बुद्धिजीवी तथा शिक्षकहरूले व्यक्त गरेका छन्।

अध्यक्ष पदमा चयन भएपछि आफ्नो संक्षिप्त कार्ययोजना र प्रतिक्रिया दिँदै पौडेलले विद्यालयको शैक्षिक गुणस्तर सुधार, अनुशासित शैक्षिक वातावरण निर्माण तथा व्यवहारिक शिक्षाको जग बसाल्न आफू लागिपर्ने बताउनुभयो। उहाँले विद्यालयलाई केवल घोकन्ते पढाइ र कोठाभित्र मात्र सीमित नराखी विद्यार्थीहरूलाई जीवनोपयोगी सीप, आधुनिक प्रविधि र व्यवहारिक ज्ञानसँग जोड्नु आफ्नो पहिलो प्राथमिकता रहने उल्लेख गर्नुभयो।

“शिक्षा केवल प्रमाणपत्र हासिल गर्ने माध्यम मात्र होइन, यो त समग्र समाज परिवर्तन गर्ने सबैभन्दा बलियो आधार हो,” नवनियुक्त अध्यक्ष पौडेलले भन्नुभयो, “यस विद्यालयलाई गुणस्तरीय, प्रविधिमैत्री र व्यवहारिक शिक्षाको एउटा नमुना केन्द्रका रूपमा विकास गर्न म शिक्षक, अभिभावक, स्थानीय सरकार र सबै सरोकारवाला पक्षहरूसँग निरन्तर सहकार्य गरेर अघि बढ्नेछु।”

कृषि, उच्च शिक्षा र समाजसेवालाई एकसाथ सङ्गतिपूर्ण रूपमा अघि बढाउँदै आएका पौडेल विद्यालयको नेतृत्वमा आएसँगै माडीकै ऐतिहासिक माडी माध्यमिक विद्यालयमा नयाँ ऊर्जा र उत्साह थपिएको छ।


सम्बन्धित समाचार