८ जेठ, भरतपुर । सरकारले शनिबार र आइतबार सार्वजनिक विदा लागू गरेपछि धेरै सेवाग्राहीमा अस्पताल खुल्ने–नखुल्ने अन्योलता देखिए पनि नेपाल नेत्रज्योति संघ चितवन अन्तर्गत सञ्चालित भरतपुर आँखा अस्पताल भने आइतबार पनि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
सेवाग्राहीको आवश्यकता र स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै सार्वजनिक विदाको दिनसमेत अस्पतालले निरन्तर सेवा दिइरहेको अस्पताल सञ्चालक समितिका अध्यक्ष जयराम श्रेष्ठ ले जानकारी दिए । उनका अनुसार आइतबार अस्पताल बन्द हुन्छ भन्ने भ्रमका कारण अन्य दिनको तुलनामा बिरामीको चाप केही कम देखिने गरेको छ।
अस्पताल व्यवस्थापन पक्षले सेवाग्राहीलाई कुनै अन्योलमा नपर्न आग्रह गर्दै आइतबार पनि आँखा जाँच, उपचार तथा आवश्यक स्वास्थ्य सेवा नियमित रूपमा उपलब्ध हुने जनाएको छ। अस्पताल सञ्चालक समितिका सचिव केशव प्रसाद अधिकारी का अनुसार पछिल्लो समय भरतपुर–१० बाइपास क्षेत्रमा रहेको अस्पतालबाट दैनिक ८ सयभन्दा बढी सेवाग्राहीले सेवा लिँदै आएका छन्।
नेपाल नेत्रज्योति संघ चितवन अन्तर्गत विशेषज्ञ सेवासहित भरतपुर आँखा अस्पताल, कावासोती र ठोरी आँखा अस्पतालका साथै दुई सर्जिकल सेन्टर, १९ वटा आँखा उपचार केन्द्र तथा एक सिटी क्लिनिक सञ्चालनमा रहेका छन् ।
संस्थाले विभिन्न जिल्लाका २० वटा पालिकामा आँखा उपचार सेवा विस्तार गर्दै वार्षिक रूपमा लाखौँ नागरिकलाई आँखा परीक्षण तथा हजारौँ बिरामीलाई शल्यक्रिया सेवा प्रदान गर्दै आएको जनाएको छ ।


















