Logo

८ जेठ,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संविधान विपरीत काम गर्ने कसैलाई पनि जनताले प्रतिनिधि नबनाएको बताएका छन्। उनले विधिको शासन सबैले अनिवार्य रूपमा पालना गर्नुपर्नेमा जोड दिएका छन्।

प्रधानमन्त्री बालेन शाहलाई लक्षित गर्दै उनले सरकार र सार्वजनिक पदमा रहेका व्यक्तिहरूको काम संविधान र कानुनअनुसार हुनुपर्ने बताएका छन्। हाल सदनप्रति जवाफदेही नभएको भन्दै उठेका आलोचनाबीच उनले विधिको शासनको महत्वबारे धारणा सार्वजनिक गरेका हुन्।

दुलालले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै अन्धभक्तताको आलोचना गर्दै सत्य बोल्न र आलोचना सहन सक्ने क्षमता आवश्यक हुने बताएका छन्। उनले “अन्धभक्तको गन्तव्य निराशा हो भने रचनात्मक आलोचनाको गन्तव्य आशा हो” भन्दै टिप्पणी गरेका छन्।

उनका अनुसार देश संविधान अनुसार चल्नुपर्छ र संविधान तथा कानुनभन्दा माथि कुनै पनि व्यक्ति वा पद हुन सक्दैन। उनले विधिको शासन नै सुशासनको आधार भएको उल्लेख गर्दै राज्यका उच्च पदमा रहनेहरूले नै कानुनको पूर्ण पालना गर्नुपर्नेमा जोड दिएका छन्।

दुलालले नेतृत्व तहबाटै विधि मिचिए गलत सन्देश जाने र त्यसले प्रणाली कमजोर बनाउने बताएका छन्। उनले सरकार संविधानको संरक्षक हुनुपर्ने उल्लेख गर्दै त्यसको विपरीत कार्य भएमा निरन्तर खबरदारी आवश्यक हुने धारणा राखेका छन्।

उनले इतिहासका उदाहरण दिँदै लोकप्रिय नेताहरू पनि अन्धभक्त समर्थनका कारण निरङ्कुश प्रवृत्तिमा रूपान्तरण हुन सक्ने चेतावनी दिएका छन्। उनले सबैलाई सचेत रहन आग्रह गर्दै विधिको शासन र आलोचनात्मक चेतनालाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।


सम्बन्धित समाचार